२०८३ बैशाख ४ गते , शुक्रबार

शिक्षित नै लागूऔषध दुर्व्यसनमा, झापामा १२ महिनामा ३०७ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३ गते , विहीबार
शिक्षित नै लागूऔषध दुर्व्यसनमा, झापामा १२ महिनामा ३०७ जना पक्राउ

झापा। झापामा लागू औषध प्रयोगकर्ता दैनिकजसो पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका युवाले विभिन्न वहानामा लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । प्रहरीले केही समय अघि दुई महिलालाई पक्राउ ग¥यो । उनीहरुले लागूऔषध योनाङ्गमा लुकाएको फेला पारेसँगै प्रयोगकर्ताले विभिन्न तरिका अपनाउँदै लागूऔषध भारतबाट नेपाल भित्र्याउने गरेको रहस्य खुल्यो ।

आर्थिक वर्ष २०७७-०७८मा झापामा लागूऔषध दुव्र्यसनमा लागेकामध्ये ३०७ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ ग¥यो । पक्राउ पर्नेमध्ये अधिकांश शिक्षित छन् । प्रहरीले पक्राउ परेकाहरुलाई विभिन्न समूहमा विभाजन गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६-०७७ को तुलनामा आर्थिक वर्ष २०७७-०७८मा लागूऔषधको कुलतमा लागेकामध्ये शिक्षित युवाको संख्या बढी रहेको छ ।

आर्थिक वर्ष २०७६-०७७ मा कक्षा १२सम्म अध्ययन गरेका ३४ जना युवा लागूऔषध प्रयोगकर्ता पक्राउ परेकोमा गत आर्थिक वर्ष २०७७-०७८मा उक्त संख्या बढेर १०२ जना पुगेको छ । यो पक्राउ परेकामध्ये ६६ प्रतिशतको शैक्षिक योग्यता कक्षा १० वा सोभन्दा माथिल्लो तह रहेको छ । आर्थिक वर्ष २०७६-०७७ मा यो संख्या १८ प्रतिशत मात्र थियो । यसबाट प्रष्ट हुन्छ कि झापामा लागूऔषध दुव्र्यसनमा लागेकामध्ये शिक्षित व्यक्ति नै धेरै छन् ।

सहजरुपमा आर्थिक उपार्जन गर्ने माध्यमका रुपमा लागूऔषध कारोवारलाई अंगाल्दा शिक्षित समूह दुव्र्यसनमा फस्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्तामध्ये ४२ प्रतिशत कारोवारी आर्थिक उपार्जनका लागि यो धन्दामा संलग्न छन् । दुव्र्यसन र प्रयोगको संख्यासमेत बढ्दै गएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७७-०७८मा दुव्र्यसन र प्रयोगमा ३८ प्रातिशत लागेको पाइएको छ । त्यस्तै आर्थिक उपार्जन, दुव्र्यसन वा प्रयोग केही नखुलेका २० प्रतिशत लागूऔषधको कारोवारमा संलग्न रहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६-०७७ माभन्दा आर्थिक वर्ष ०७७-०७८मा लागूऔषध दुव्र्यसन र प्रयोगको संख्यामा कमी आए पनि आर्थिक उपार्जनतर्फ भने वृद्धि भएको पाइएको छ ।

आर्थिक वर्ष २०६७-०७७मा लागूऔषध दुव्र्यसन र प्रयोगमा ५४ प्रतिशत मानिस संलग्न रहेका थिए भने आर्थिक उपार्जनतर्फ २६ प्रतिशत मानिस संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लागूऔषध प्रयोगकर्ताले आफ्नै शरीरमा लुकाइछिपाइ लागूऔषध ल्याउने गरेको खुलेको छ ।

आर्थिक वर्ष २०७७-०७८मा ३८ प्रतिशत लागूऔषध प्रयोगकर्ताले शरीरका विभिन्न भागमा लुकाइछिपाइ लागूऔषध ओसारपसार तथा विक्रीवितरण गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक थापाले बताए । यो आर्थिक वर्ष २०७६-०७७ भन्दा १५ प्रतिशतले बढी भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लागू औषध प्रयोगकर्ताले सामानमा लुकाइछिपाइ, डाक्टरको सिफारिस भन्ने वहाना र सवारी साधनमा लुकाइछिपाइ लागू औषधको कारोवार गर्ने गरेको खुलेको छ ।

लागूऔषधको कारोवारमा संलग्नहरुमध्ये विदेशीको संख्या पनि बढ्न थालेको पाइएको छ । भारतसंग सीमाना जोडिएको झापामा खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषध ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा ९२ प्रतिशत नेपाली लागूऔषधसहित पक्राउ परे भने भारतीय नागरिक ८ प्रतिशत पक्राउ परेका थिए ।

पक्राउ परेका भारतीय अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६-०७७मा ९६ प्रतिशत नेपाली र ४ प्रतिशत भारतीय नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका थिए । लागूऔषध प्रयोगकर्तामा युवा पुस्ताको संख्या वर्षेनि वढ्दै गएको छ ।

वेरोजगार, असफल हुने, गलत संगत अभिभावकको निगरानीबाट टाढा हुनु लगायतका कारण युवापुस्ता लागूऔषधको दलदलमा फस्दै गएका हुन् । आर्थिक वर्ष २०७६-०७७मा १८ देखि २५ वर्ष उमेर समूहमा ८७ जना लागूऔषधसहित पक्राउ परेकामा गत आर्थिक वर्ष २०७७-०७८ मा १५३ जना पक्राउ परेका छन् ।

त्यस्तै २५ देखि ३५ वर्ष उमेर समूहका १०८ जना युवा गत आर्थिक वर्षमा पक्राउ परेका थिए । यो अघिल्लो आर्थिक वर्ष २०७६-०७७ को भन्दा ५१ जनाले बढी हो । प्रहरीका अनुसार युवा समूह लागूऔषध प्रयोगकर्ता तथा ओसारपसारमा वढी सक्रिय देखिएको छ ।

लागूऔषध प्रयोगकर्तामध्ये अधिकांश पुरुष छन् । महिलाको संख्या न्यून रहे पनि पछिल्लो समय लागूऔषध कारोवार तथा ओसारपसारमा महिलाको पनि संख्यामा वृद्धि हुन थालेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये आठ नगरपालिकामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा लागूऔषध कारोवारी तथा प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६-०७७मा ३९ जना पक्राउ परेकामा मेची नगरपालिकाबाट आर्थिक वर्ष २०७७-०७८ मा ५९ जना पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । मेचीनगरपछि दमक, भद्रपुर र विर्तामोड नगरपालिकामा लागूऔषध प्रयोगकर्ता तथा कारोवारी धेरै रहेको प्रहरीले जनाएको छ । त्यस्तै गाउँपालिकामध्ये गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकामा लागूऔषध कारोवारी धेरै पक्राउ परेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

प्रहरीका अनुसार गौरीगञ्जमा गतआर्थिक वर्ष २०७७-०७८मा ९ जना, झापा गाउँपालिकामा ८ जना र कचनकवल गाउँपालिकामा ७ जना लागूऔषध कारोवारी पक्राउ परे । प्रहरीले पक्राउ परेकाहरुबाट लागूऔषधमध्ये डाइजापाम, लुपिजेसिक, फेनारगन, नाइट्रोसन, ब्राउनसुगर अफिम, गाँजा, लगायतका लागूऔषध बरामद भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

सम्बन्धित समाचार