प्रहरीसँग मिलेर पत्रकारले नै पत्रकारलाई लागु औषधमा फसाएको खुलासा
झापा । रौतहटमा कार्यरत एक पत्रकारलाई प्रहरीको मिलेमतोमा पत्रकारले नै योजनावद्ध रुपमा लागुऔषध मुद्दामा फसाएको खुलासा भएको छ। रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोम्हद मोजीबुल्लाहलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह–सचिव संजय सहनीले घुमुवा प्रहरीसँगको मिलोमतोमा फसाएको खुलेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सहनीले रौतहट माधवनारायण नगरपालिका– १ का २४ वर्षीय धीरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ का २३ वर्षीय जितेश कुमार यादवलाई प्रयोग गरी मोम्हदको मोटरसाइकलमा लागुऔषध नाइट्रभेट राख्न लगाएको खुलेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले सहानीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाएर मोम्हदलाई पक्राउ गर्न लगाएको खुलेको जानकारी दिए। प्रहरीले धीरज यादव र जितेश कुमार यादवलाई अपराधिक षडयन्त्र लागुऔषध मुद्दामा अदालतबाट ७ को म्याद थप लिएको जनाएको छ। यस्तै प्रहरी द्वयलाई गैरव्यवसायीक कार्यमा संलगन रहेको अभियोगमा निलम्बन गरी संलग्नता बारे थप अनुसन्धान भइरहेको जनाएको छ।
साउन ३२ गते लागुऔषध नाईट्राभेट ट्याबलेट १०५ वटा मोटरसाइकलमा राखिएको अवस्थामा प्रहरीले मोजिबुल्लाह र शेख अतिउल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। सिसिटिभी फुटेजमा गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटीमा राखिएको मोटरसाइकलमा केही व्यक्तिहरूले केही सामानहरू झुन्डाइरहेको देखिएको थियो। सोही फुटेजका आधारमा मोम्हदलाई योजनावद्ध रूपमा फसाउन खोजेको तथ्य पत्तालागेको थियो। थाहाखबरबाट