२०८३ बैशाख ५ गते , शनिबार

तस्करीको ट्रान्जिट बन्दै झापाको सतीघट्टा नाका : भारतीय एसएसबीद्वारा फेरि तीन लाखको कपडा बरामद

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
तस्करीको ट्रान्जिट बन्दै झापाको सतीघट्टा नाका : भारतीय एसएसबीद्वारा फेरि तीन लाखको कपडा बरामद
झापा । झापाको सतीघट्टा नाकाबाट भन्सार छलेर अवैध रुपमा सरसामान नेपाल भित्रिने गरेको पाइएको छ ।  मेचीनगर नगरपालिका-७ स्थित सतीघट्टा पारी भारतको दुलालजोत  र पानीटंकी नजिकै बजार पर्छ ।
सोही नाकाबाट सतिघट्टा भएर चोर बाटो प्रयोग गरी सरसामान नेपाल भित्रिन थालेपछि भारतीय एसएसबीले निगरानी बढाएको छ ।
भारतीय एसएसबीले नेपाल भारत सीमा पिलर ९४ नजिकैबाट करिब ३ लाख बढीको लत्ताकपडा बरामद गरेको छ । ९४ नम्बर पिलरको बाटो सतिघट्टा निस्किन्छ । एसएसबी ४१ बटालियन टोलीले सीमामा गस्ती गर्ने क्रममा सो मूल्य बराबरको १४ पोका कपडा नेपाल भित्राउन लागेको अवस्थामा बरामद गरेको हो । एसएसबीले कपडासहित एक तस्करलाई पनि नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको कपडासहित तस्करलाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको एसएसबीले जनाएको छ । 
दुई अघि मात्र एसएसबीले ९४ नम्बर पिलर नजिकैबाट ९ पोका लत्ताकपडा बरामद गरेको हो । कपडासहित भारतीय तस्कर क्षिरोत राय र घनश्याम शर्मालाई पनि एसएसबीले नियन्त्रणमा लिएको थियो । बरामद गरिएको कपडाको मूल्य नेपाली ५ लाख बढी रहेको थियो। सो नाकाबाट दिनैपिच्छे एसएसबीले सरसामान बरामद गर्न थालेपछि सतिघट्टा क्षेत्र अवैध कारोबारका लागि ट्रान्जिट बन्दै गएको छ ।

सम्बन्धित समाचार