२०८३ बैशाख ४ गते , शुक्रबार
झापाको पन्थापाडा स्वास्थ्य चौकी तोडफोड गर्दै सामान चोरी
झापा । अज्ञात समूहले झापा गाउँपालिका-५ स्थित पन्थापाडा आधारभूत स्वास्थ्य चौकी तोडफोड गर्दै सरसामान चोरी गरेका छन् ।
स्वास्थ्य चौकीको मुख्य प्रवेशद्वारको चेन गेट र कार्यालयको तीन ढोकाको ताला तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याउनुका साथै स्वास्थ्य चौकीभित्रका सरसामान चोरी भएको सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए । अज्ञात समूहले स्वास्थ्य चौकीभित्र रहेको एउटा पानी तान्ने मोटर, एउटा स्टेन पङ्खा, एक थान बिपी सेट र ६ थान प्लास्टिकका चोरी भएको उनले बताए ।
स्वास्थ्य चौकीमा चोरी भएपछि कर्मचारीले स्थानीय प्रहरीलाई खबर गरेका छन् । चोरी गर्ने समूहको पहिचान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले आग्रह गरेका छन् ।