२०८३ बैशाख २३ गते , बुधबार

मुुसलमान समुदायकी जेवा बनिन् डाक्टर

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १६ गते , बुधबार
मुुसलमान समुदायकी जेवा बनिन् डाक्टर

राजविराज । अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन। सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्।

पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन्। अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन्। तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बन्नुभएको छ खातुन। उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी छन्। जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिनुभएकी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गरेकी छन्।

एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय भने उनी आफ्ना आमाबुबालाई दिन्छिन्। “शायद उहाँहरुले नपढाउनुभएको भए आज चिकित्सक बन्ने थिइनँ”, उनी भन्छिन्, “बल्ल मेरो सपना पूरा भएको छ।” आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउँछिन्। नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उनी बताउँछिन्। त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लगिन् खातुनले।

उनले विसं २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भएलगत्तै उनले मेडिकल प्रवेश परीक्षाका लागि तयारी थालिन्। परीक्षा त दिइन् तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकिनन्। उनी भन्छिन्, “तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो।”

एमबिबीएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छन्। उनका बुबा कल्याणपुर बजारका व्यवसायी हुन् भने आमा खड्क नगरपालिकाका उपप्रमुख हुन्। आमाबुवाले सधैँं आफूलाई प्रोत्साहन दिँदै सहयोग गर्दै आएकै कारण आज आफूले एमबिबीएस उत्तीर्ण गरेको उनी बताउँछिन्।

इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उनले सोच बनाएकी छन्। “जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु”, उनले भनिन्। एमबिबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उनले राखेकी छन्।

छोरी पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्दै उनी हरेक छोरीलाई पढाउनुपर्ने बताउँछिन्। “हरेक छोरीमा कुनै न कुनै गुण हुन्छ, प्रतिभा हुन्छ”, उनी भन्छिन्, “तर सानै उमेरमा विवाह गरिदिएपछि ती प्रतिभा प्रष्टफुटित हुन पाउँदैन। उनीहरुको सपना तुहिन्छ।” प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरुक बन्दै जाने उनको विश्वास छ।

जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहेका छन्। जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहेकी छन्। तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनी बताउँछिन्। “म चाहन्छु हरेक अभिभावकले आफ्ना छोरीलाई पढाउन् र विश्वास गरुन्” उनी भन्छिन् “आज मेरो अभिभावकले ममाथि विश्वास नगरेको भए म अगाडि नै बढ्ने थिइनँ, मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ। विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेसमा तुलनात्मकरूपमा मुस्लिम महिला सामाजिकरूपमा पछाडि नै छन्। अरुले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनुपर्छ।”

मुस्लिम समुदायबाट जेवाले एमबिबीएस उत्तीर्ण गरेपछि उनका छरछिमेक पनि खुशी छन्। छिमेकी अनवर अलीले यो सफलता उनको मात्र नभई मुस्लिम समुदायकै पनि भएको बताउँछन्। “जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले पनि त्यसमा साथ दिनुपर्छ”, उनी भन्छन्, “यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ।” रासस


सम्बन्धित समाचार