२०८३ बैशाख ४ गते , शुक्रबार
कचनकवलका एक व्यक्तिको बिर्तामोडमा हत्या, हत्यामा संलग्न काका फरार
(पार्थ मण्डल) झापा । झापामा एक जना अटो चालकको हत्या भएको छ । कचनकवल गाउँपालिका- ३ निवासी बाबुलाल भनिने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको प्रहरी कार्यालय झापा डिएसपी राकेश थापाले जानकारी दिए । राजवंशी बिर्तामोड नगरपालिका–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडिको कोठा भाडामा बस्दै आएका थिए । उनको शव कोठाभित्र फेला परेको डिएसपी थापाले बताए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनास्थलमा पुगेको छ । 'आफन्तजन आएपछि बन्द ढोका खोलेर अनुसन्धान थालेका छौँ,' डिएसपी थापाले भने, 'मृतकको टाउको लगायत शरीरका विभिन्न स्थानमा चोटपटक देखिएको छ, कोठाभित्र रगत पनि छरपस्ट छ, घटनाको प्रकृति हेर्दा हत्या नै भएको आशङ्का गरेका छौँ ।'
यता मृतकका छोरा १५ वर्षीय देव नारायण राजवंशीले कान्छा काकाले मारेको प्रहरीलाई बयान दिएको छ । बिर्तामोड ४ स्थित डेरा गरी बस्ने ३८ वर्षीय कान्छा काका रतनलाल राजवंशीले कुटेर मारेको र घटना पश्चात् उनले आफ्नो छोरा ९ वर्षीय श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेको डिएसपी थापाको भनाई छ । उनी फरार रहेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिसकेको डिएसपी थापाले बताए ।