दाजुलाई मार्तल प्रहार गरी हत्या गर्ने भाइ पक्राउ
झापा । दाजुलाई मार्तल प्रहार गरी हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका- ३ निवासी ३७ वर्षीय रतनलाल राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । दाजुको हत्या गरी रतनलालले आफ्ना ९ वर्षीय छोरा श्रीमन राजवंशीलाई साइकलमा राखेर फरार भएका थिए ।
प्रहरीले उनलाई आइतबार राती मेचीनगर नगरपालिका- १५ स्थित ज्यामिरगढीमा आफन्त घरबाट पक्राउ गरेको हो । घरायसी सामान्य विवादको क्रममा रतनलालले आफ्नै दाजु ५० वर्षीय भाद्रु राजवंशीलाई शनिवार राति कुटपिट पश्चात् मार्तल प्रहार गरी हत्या गरेका थिए । भाद्रु पेसाले अटो चालक हुन् । उनी बिर्तामोड नगरपालिका- ४ स्थित लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । उनको हत्या त्यही डेरा भित्र भएको प्रहरीले जनाएको छ ।
मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले काकाले बुबाको हत्या गरेको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली दिनभर रतनलालको खोजी कार्यमा जुटेका थिए । 'शनिवार मध्यराती दाजुभाइबिच सामान्य विवाद भएको थियो,' डिएसपी थापाले भने, 'सोही क्रममा रतनलालले मार्तल प्रहरी गरी दाइको हत्या गरेको स्वीकार गरिसकेको छ ।' मार्तलसहित पक्राउ परेका रतनलाललाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आजै झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ ।