२०८३ बैशाख ८ गते , मंगलबार

२१ वर्षीया पूजा धेरै मत ल्याई काँग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २३ गते , बुधबार
२१ वर्षीया पूजा धेरै मत ल्याई काँग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ की २१ वर्षीया पूजा फुयाँल नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएकी छिन । वडा अधिवेशनमा खसेको दुई सय ६३ मतमध्ये पूजाले सबैभन्दा धेरै अर्थात् दुई सय दुई मत प्राप्त गरेर निर्वाचित हुनुभएको नेपाली काँग्रेस सोलुखुम्बुले जनाएको छ ।

नौ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेवि सङ्घ इकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा २०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भएकी थिइन। पूजा अहिले नेविसङ्घ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेसनको जिल्ला सहसचिव हुन् ।

लगातार पूर्णकालीन राजनीतिमा लागेकी पूजा यो पटक धेरै मत ल्याएर जित्दा निकै दङ्ग भएकी छिन् । उनले भनिन्, ‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर उहाँहरूले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो तर चुनावमा गएपछि मलाई ९० प्रतिशत क्रियाशील सदस्यले माया गरेर जिताउनु भयो ।’

क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा युवाहरूको भविष्यप्रति आशा जागेको उनको भनाइ छ । उनले भनिन्, ‘काँग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नुपर्छ ।’

पूजाका हजुरबुबा लीलाराज फुयाँल नेपाली काँग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । ५२ वटा वडा रहेको सोलुखुम्बुमा दुई वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली काँग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको वडा हो ।

सम्बन्धित समाचार