कांग्रेस हल्दिबारी सभापति पदमा होम चुँडालको उम्मेदवारी घोषणा
झापा । नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिको सभापतिमा होम चुँडाल उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २७ गते हुन गइरहेको गाउँ तथा नगरको अधिवेशनमा चुँडालले हल्दिबारी गाउँ सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट जनप्रतिनिधिमा निर्वाचित भएका चुँडाल हाल हल्दिबारी ४ नम्बर वडा अध्यक्ष हुन् । चुँडाल विकास प्रेमीसँगै स्थानीय जनताका लोकप्रिय नेताको रूपमा हल्दिबारीमा परिचित छन् ।
वि।सं। २०४७ सालमा हल्दिबारी माविको स्ववियु सभापतिबाट आफ्नो राजनीति यात्रा सुरु गरेका उनले २०५६ सालमा मेची क्याम्पस नेवि सङ्घ इकाई सभापति र २०५८ सालमा नेवि सङ्घ जिल्लाका सभापति भइसकेका छन् ।
२०६३ सालबाट तत्कालीन जलथल गाउँ सचिव र उपाध्यक्ष हुँदै हाल हल्दिबारीमा नेपाली कांग्रेसको सक्रिय र क्रियाशील सदस्य भएर पार्टीलाई मजबुत बनाउने अभियानमा लागेका छन् । वडा अध्यक्ष भएर जनमुखी कामका कारण पछिल्लो समयमा उनी निकै चर्चामा पनि आएका छन् ।
कोरोना महामारीको कारण लामो समयसम्म बन्दाबन्दी भएको बेला बिहान बेलुका घरमा चुलो बाल्न समस्यामा परेका अति विपन्न परिवारलाई उनले आफ्नै खर्चमा राहत बाडेका थिए । कोही कसैसँग कहिल्यै पनि लोभ र प्रभावमा नपरी इमानदार भएर आफ्नो काम कर्तव्य र नेतृदायी भूमिकामा सधैँ आफूलाई स्थापित गर्न चाहने चुँडाल स्थानीय परिबेसमा असल र इमानदार नेताको रूपमा परिचित छन् ।
व्यक्ति र गुटबन्दीबाट टाढा रहेर पार्टीको मूल नीति र सिद्धान्तलाई आत्मसाथ गर्दै देश र जनताले खोजेको सही अर्थको कांग्रेस बनाउने एक मात्र लक्ष्य बोकेर मैले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।