२०८३ बैशाख ४ गते , शुक्रबार

सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २६ गते , शनिबार
सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने एक जना पक्राउ
झापा । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर- ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका -५ तल्लो देउराली दीपक लिम्बुको घरमा डेरा गरी बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछाने रहेका छन् ।
उनले आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भनी प्रलोभन देखाई सर्वसाधारण मानिसहरूलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो बापत मोटो रकम माग समेत लिए पश्चात् लेनदेन प्रकृतिको कागज बनाई झुक्क्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो ।
 प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाडौँ लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौँ लेखेको रबरको छाप, गोप्य लेखेको रबरको छाप, जिबछ लामिछाने समेत लेखेको रबरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौँ लेखेको रबरको छाप,  प्रहरी निरीक्षक लेखेको रबरको छाप, उपसचिव लेखेको रबरको छाप, राष्ट्रिय वाणिज्य बैङ्क उल्टो उल्लेख भएको रबरको छाप, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप, शाखा अधिकृत लेखेको छाप लगायत सो सम्बन्धित विभिन्न कागजातहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन सात को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार