इलामको सन्दकपूरमा ५० लाखको भ्यूटावर
इलाम । सन्दकपूर गाँउपालिका ४ को माबुथाम क्षेत्र लोपउन्मुख चराचुरुङ्गी, वन्यजन्तु र लेकाली जीवनशैलीमा रमाउन सकिने क्षेत्र हो । प्राकृतिक टावरझैँ रहेको माबुथाम क्षेत्र पुग्ने जो कोहीले पूरै इलाम जिल्लाको दृश्यावलोकन गर्नसक्छ । माबुथाममा स्थानीय जनप्रतिनिधिको सक्रियतामा कृतिम टावर थपिएपछि जिल्लासँगै तराईका जिल्लाको दृश्यावलोकन पनि गर्न सकिने भएको छ ।माबुथाममा भ्यूटावर निर्माणको काम २०७४ देखि सुरु भएको हो ।
गाउँपालिकाले सुुरु गरेको भ्यूटावर निर्माणपछि पर्यटनको माध्यमबाट आर्थिक उन्नति हुने स्थानीय जनप्रतिनिधिको भनाइ छ । यद्यपि सीमित बजेटले गर्दा निर्माण सम्पन्न भएको छैन ।५ तला अग्लो भ्यू टावर निर्माण सम्पन्न भइनसके पनि निर्माणाधिन टावरमा चढेर रमाउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय पर्यटनकर्मी सिद्धि गुरुङ बताउनुहुन्छ ।समुन्द्र सतहबाट २ हजार ८ सय मिटर उचाइमा रहेको माबुथाम क्षेत्रबाट नेपाल र भारतका हिमश्रृंखलाहरूको दृश्यमा रमाउन सकिन्छ ।
सन्दकपूर गाउँपालिका ४ ले ५५ फिट अग्लो भ्यूटावर निर्माणको सुरुवातले ग्रामीण पर्यटन प्रवर्द्धन भइ आयआर्जनमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।१२ रोपनी क्षेत्रफलमा फैलिएको माबुथाम क्षेत्रको भ्यू टावर निर्माणमा हालसम्म २५ लाख खर्च भइसकेको छ । टावर वरिपरि पार्क सडकबाट टावर क्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसँगै बाँकी काम सक्न ५० लाख खर्च हुने निर्माण समितिले जनाएको छ । इमेज खबरबाट