२०८३ बैशाख ३ गते , विहीबार

नेत्रहीन विद्यार्थीको लागि दैनिक एक रुपैयाँ सङ्कलन, सङ्घद्वारा छात्रवृत्ति कोष स्थापना

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २ गते , शनिबार
नेत्रहीन विद्यार्थीको लागि दैनिक एक रुपैयाँ सङ्कलन, सङ्घद्वारा छात्रवृत्ति कोष स्थापना

झापा । जिल्लाका नेत्रहीन विद्यार्थीको सहयोगार्थका लागि आदिवासी जनजाति नेत्रहीन सङ्घ झापाले दैनिक एक रुपैयाँ रकम सङ्कलन अभियानलाई निरन्तरता दिएको छ । 

नेत्रहीन सङ्घमा आबद्ध सदस्यहरूबाट एक रुपैयाँ सङ्कलन गर्दै छात्रवृत्ति कोष समेत खडा गरिएको आदिवासी जनजाति नेत्रहीन सङ्घ झापाका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए सङ्घले २०६७ सालमा देउसी भैलो खेलेर ४० हजार रुपैयाँ सङ्कलन गरी नेत्रहीन विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाका गरेको थियो । सो अभियानलाई निरन्तरता दिँदै हाल छात्रवृत्ति कोषमा एक लाख ३५ हजार बढी रकम जम्मा भइसकेको अध्यक्ष तामाङले बताए । जिल्लाभरिबाट सङ्घमा एक सय बढी सदस्य आबद्ध छन् । उनीहरूबाट दैनिक एक रुपैयाँ सङ्कलन गरी कोषमा राख्दै आएको छ । सोही सङ्कलित रकमबाट हरेक वर्ष जिल्लाभरिका नेत्रहीन विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र छात्रवृत्ति प्रदान गर्दै आएको उनको भनाई । 

यस क्रममा सङ्घले आफ्नो ११ औंं स्थापना दिवसको अवसर पारेर कनकाई नगरपालिकास्थित सुरुङ्गामा शनिवार आयोजित एक कार्यक्रमका बिच  तीन जना नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सो छात्रवृत्ति र शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गर्दै सङ्घको छात्रवृत्ति कोषलाई १० हजार रुपैयाँ दिएका छन् । 

त्यस्तै कलाकार तथा पत्रकार आइपी भट्टराईले दैनिक एक रुपैयाँका दरले सात वर्षको रकम र सहायक वन अधिकृत दिनेश यादवले नगद २५ सय रुपैयाँ कोषलाई दिएका छन् । सङ्घका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पोखरेल, गैर सरकारी महासङ्घका उपसचिव नेत्र प्रसाईँ , कलाकार भट्टराई , नेत्रहीन सङ्घ झापाकी अध्यक्ष सृजना बराल लगायतले नेत्रहीन सङ्घले दैनिक एक रुपैयाँ सङ्कलन गरी छात्रवृत्ति दिएर अन्य समुदायका व्यक्तिहरूलाई पनि केही काम गर्न अग्रसर हुन उत्प्रेरणा जगाएकोमा जोड दिएका थिए ।


सम्बन्धित समाचार