२०८३ बैशाख ३ गते , विहीबार
प्याब्सन शिवसताक्षी नगर अध्यक्षमा सुहाङ
शिवसताक्षी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज ईङलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सिपल रामकुमार सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
आगामी तीन वर्षका लागि भएको अधिवेशनले झिलझिलेको सेभेनसिज ईङलिस बोर्डिङ स्कुलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै सचिवमा कञ्चनजङ्घा बोर्डिङका प्रिन्सिपल टङ्कप्रसाद बास्तोला र कोषाध्यक्षमा दीक्षान्त बोर्डिङका प्रिन्सिपल रेवत प्रधान सर्वसम्मत चयन भएका छन् ।
शिवसताक्षी नगर प्याव्सनको सदस्य पदमा मेची ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल भीम भट्टराई, निम्बस बोर्डिङ स्कुलका प्रिन्सिपल बुढाथोकी, न्यु ज्योफ्रिका प्रिन्सिपल चन्द्रप्रसाद गौतम सदस्यमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत पशुपति ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रप्रकाश खनालले बताए । नव गठित समितिका सबै पदाधिकारी र सदस्यलाई निर्वाचन अधिकृत खनालले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यस अघि आयोजित अधिवेशनको खुल्ला सत्रमा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान भएको बताए । ‘नगरले मावि स्तरका सामुदायिक विद्यालयमा छात्राहरूले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गरेको छ । अब, संस्थागत माध्यमिक तहका विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन हुने छ,’ उनले भने । विद्यार्थीको हरेक क्षमता अभिवृद्धि गर्ने कुनै पनि कार्यक्रममा नगरले ल्याएको कार्यक्रममा विद्यालय स्तरमा विभेद नगरिने पनि उनले दाबी गरेका छन् ।
कार्यक्रममा एक नम्बर प्रदेशका उपाध्यक्ष मिलनकुमार ढुङ्गानाले सरकारले संस्थागत र सामुदायिक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाए पनि व्यवहारमा संस्थागत विद्यालयलाई विभेद गरेको आरोप लगाए । सो कार्यक्रममा नगरकी उपप्रमुख भोजकुमारी नेपाल, नगर शिक्षा अधिकारी उपसचिव सुरेन्द्र दाहाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, कमल गाउँपालिकाका प्याव्सन अध्यक्ष बद्री राई, पत्रकार विनोद सापकोटा लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
निवर्तमान प्याब्सन अध्यक्ष अमृत तिम्सिनाले कोभिड ले थलिएको शिवसताक्षी नगर प्यावसनले जोखिमका वाबजुत पनि आफ्नो कार्यकालमा रचनात्मक काम गरेको बताए । तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सचिव डिगम पराजुलीको सहजिकरणमा भएका थियो । उनले संस्थाको साङ्गठनिक प्रतिवेदन पनि सार्वजनिक गरेका थिए । उनले प्रस्तुत गरेको सांगठिन प्रतिवेदन हलले स्वीकृत गरेको थियो ।