२०८३ बैशाख २३ गते , बुधबार
मेची अस्पतालमा थाल्यो अक्सिजन उत्पादन, दैनिक ३५ सिलिन्डर उत्पादन
झापा । मेची अस्पताल भद्रपुरले अक्सिजन उत्पादन सुरु गरेको छ । शनिवारदेखि अक्सिजन उत्पादन सुरु गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । मेची अस्पताललाई अक्सिजन उत्पादनका लागि प्रदेश १ सरकारले गत आर्थिक वर्षमा १ करोड उपलब्ध गराएको थियो । अक्सिजन उत्पादन गर्ने प्रविधि, भवन निर्माण र जडानमा सो रकम खर्च गरिएको बताइएको छ । दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्टले अहिलेको सामान्य अवस्थालाई धान्न सक्ने अध्यक्ष पोर्तेलको भनाइ छ ।
उनका अनुसार आगामी दिनमा दैनिक ११५ सिलिन्डर उत्पादन गर्न प्लान्ट जडान गरिनेछ । मेची अस्पताललाई आवश्यक पर्ने अक्सिजन आफैँ उत्पादन गर्ने योजना रहेको अध्यक्ष पोर्तेलले बताए । उनले प्लान्ट थप गर्दै अक्सिजनको समस्या समाधान गर्ने जानकारी पनि दिए ।यसअघि अस्पतालले विभिन्न कम्पनीबाट अक्सिजन खरिद गर्दै प्रयोग गर्ने गरेको थियो ।