२०८३ बैशाख ३ गते , विहीबार

झापामा नाम मात्रको बजार अनुगमन : उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही नै हुँदैन, चेतावनीमै सीमित

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १५ गते , शुक्रबार
झापामा नाम मात्रको बजार अनुगमन : उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही नै हुँदैन, चेतावनीमै सीमित

झापा। जब चाडपर्व सुरु हुन्छ, तब सक्रिय हुन्छ बजार अनुगमन गर्ने निकाय । हरेक वर्ष दोहोरिने गर्छ, यो शैली । आक्रामक रुपमा बजार पस्ने अनुगमन टोलीले व्यापारी थर्कमान हुन्छन्, तर, उपभोक्ता जहिले ठगिन्छन् । अनुगमन गर्ने तर बजारमा मनपरी मूल्य असुल्ने क्रम भने रोकिएको छैन ।चाडपर्वको आगमनसँगै मेचीनगरमा अनुगमन थालिएका छ । मेचीनगरको मुख्य: व्यापारिक केन्द्र काँकडभिट्टाबाट बजार अनुगमन टोलीले बिहीबार लाखौँ रुपैयाँ मूल्यका सामान जफत गरेको छ ।

दसैँ–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्य वस्तुको मूल्य दिनहुँजसो उकालो लागेको उपभोक्ताको गुनासो आएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकडभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो । सो क्रममा उपभोग्य मिति गुज्रिएका खाद्यवस्तु टोलीले नियन्त्रणमा लिएको छ ।

दसैँ–तिहारलगायत अन्य चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र खाद्य सामग्रीको मूल्य वृद्धि नियन्त्रण गर्न मेचीनगरमा बजार अनुगमन गरिएको बताइएको छ । टोलीले खाद्य, फलफूल बिस्कुटलगायतका पसलको अनुगमन गरेको थियो ।

खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता पारिने टोलीले जनाएको छ । अनुगमन टोलीले अनुगमनका क्रममा बिल विजक चुस्त दुरुस्त नराखेको, मूल्य सूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिक रुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो । साथै, विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सबै प्रक्रिया पुर्‍याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीलाई सुझाव दिइएको छ ।

उपभोग्य मिति समाप्त भएको फेला पारेको ती वस्तु नष्ट गर्ने जनाइएको छ । टोलीले खुद्रा व्यवसायीलाई होलसेल व्यवसायीले जारी गरेको बिल विजक सुरक्षित राख्न र अनुगमन टोलीले आवश्यक परेका बेला माग उपलब्ध गराउन भनेको छ ।केपी इन्टरप्राइजेज, डिसी मल्टी सेन्टर, सुशीला भेराइटीज, आस्था ट्रेडर्स, न्यु भेराइटीज, मोहन किराना पसलमा टोलीले अनुगमन गरेको थियो ।

टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी रिमाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत विनोदप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा भीमबहादुर तामाङ, मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्की, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय भद्रपुर झापाका विजयनन्द चौधरी, कामिन राजवंशी, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी, उपभोक्ता मञ्च नेपाल झापा सचिव सन्तोष न्यौपाने, नगर प्रहरी, नेपाल प्रहरीलगायतको सहभागिता थियो ।

भारतसँग सीमा जोडिएको झापाको १४४ दशमलव २ किलोमिटर खुल्ला सिमाना मध्ये मेचीनगर मात्रै झन्डै ३५ देखि ४० किलोमिटर खुला सिमानासँग जोडिएकाले अवाञ्छित गतिविधि हुने भएकाले सबै सचेत हुन नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले बताइन् ।

चाडपर्वका बखत बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सबै उद्योगी व्यवसायीमा उनले आग्रह गरिन् । नगरपालिकाले बजार अनुगमनलाई तीव्र पार्ने भन्दै त्यस क्रममा कसैले उपभोक्ता ठग्ने काम गरेको फेला परे तत्काल कारबाही हुने चेतावनी दिइन् । हरेकलाई आफ्नो पसलमा मूल्य सूची राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुको विक्री वितरण नगर्न समेत अनुगमन टोलीले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार