२०८३ बैशाख ४ गते , शुक्रबार
जनशक्ति सहकारीको नाफा ५ लाख बढी
बिर्तामोड । झापाको बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आ. व. ०७७/०७८ मा ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको छ ।
कोभिड १९ को सन्त्रासका बिच पनि सदस्यहरूले उल्लेख्य कारोबार गर्दा संस्थाले सन्तोषजनक नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले जानकारी दिए ।
संस्थाले शनिवार बिर्तामोडमा नवौँ साधारणसभा सम्पन्न गर्नेक्रममा साधारणसभामा अध्यक्ष कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आ. व. ०७७/०७८ मा १ करोड २८ लाख ९ हजार ६११ रुपैयाँ आम्दानी गरेको र १ करोड २२ लाख १७ हजार ८२५ रुपैयाँ खर्च भई ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको बताए ।
यस वर्ष संस्थाले ५ करोड ७३ लाख ५७ हजार ५४२ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ७ करोड ७३ लाख ८६ हजार २६ रुपैयाँ ऋण लगानी गरेको छ । सदस्य सङ्ख्या ३३९६ पुगेको छ भने शेयर पुँजी १ करोड ८४ लाख ९४ हजार पाँच सय पुगेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।
प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मणिराज दंगालले गरेका थिए भने स्वागत उपाध्यक्ष ढुण्डिराज गुरागाईँले गरेका थिए । प्रमुख अतिथि राजवंशी, बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानलगायतले शुभकामना मन्तव्य राखेको समारोहमा उत्कृष्ट बचतकर्ता पवित्रा विक, उत्कृष्ट ऋणी फुरछेकी खरेल, ज्येष्ठ महिला शेयर सदस्य सम्पत्ति राजवंशी, उत्कृष्ट बाल बचतकर्ता आयुष सिवाकोटी र उत्कृष्ट कर्मचारी दीपिका लिम्बूलाई नगरसहित सम्मान गरिएको थियो भने संस्थापक सञ्चालक सदस्य हस्तबहादुर तामाङ र गोमादेवी चूडाललाई विशेष सम्मान गरिएको थियो । सो साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गर्ने सचिव दंगालले बताए ।