२०८३ बैशाख ८ गते , मंगलबार

राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने सुरुङ्गाका भट्टराई पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ४ गते , विहीबार
राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने सुरुङ्गाका भट्टराई पक्राउ
झापा । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मङ्गलवार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने झापा कनकाई नगरपालिका–३ सुरुङ्गा घर भएका ३५ वर्षीय निलम भट्टराई रहेको प्रहरीले जनाएको छ ।
भट्टराईले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजन पत्रकारसमेत भएकोले आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई १५ लाख रुपैयाँ रकम बुझाउनुपर्ने भनी पटक–पटक गरी १४ लाख ५० हजार रुपैयाँ लिइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पीडितलाई काठमाडौँ बोलाएपछि भट्टराई सम्पर्कविहीन भएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बसपार्कबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार