नेपाली चियामा भारतीय पक्षको अवरोध, एक सातादेखि निर्यात ठप्प
झापा । नेपालमा उत्पादित हरियो चिया निर्यातलाई एक सातादेखि भारतले रोक लगाएको छ । टी बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक सातादेखि चियाको निर्यात रोकिएको नेपाल चिया उत्पादक संघले जनाएको छ । चिया निर्यात गर्नेले भारतको टी बोर्डबाट पूर्वस्वीकृति लिएर मात्र लान सक्ने व्यवस्था छ ।
‘भारतीय टी बोर्डले विनाआधार नेपाली चिया गुणस्तरहीन भएको भनेका कारण निर्यात ठप्प भएको छ । नेपालबाट भारत चिया लाने व्यवसायीलाई अनावश्यक दुःख दिएपछि चिया जान छाडेको हो,’ नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले भने, ‘एक हप्ताअघि दुई गाडी चिया लैजाँदा पानीट्यांकीको भन्सारमा रोकिएपछि चिया जान छाडेको छ ।’
केही वर्षदेखि भारतले वेला–वेलामा नेपाली चिया निर्यातमा अवरोध गर्दै आएको गुप्ताले बताए । ‘एक सातादेखि चिया निर्यात हुन सकेको छैन । राज्य मौन छ । हामीले त पहल गरिरहेका छौँ,’ उनले भने, ‘तर, हाम्रो व्यक्तिगत पहलले केही पनि हुँदैन । राज्यस्तरबाट नै पहल गरेर चियाको निर्यात सहज बनाइनुपर्छ ।’ चिया निर्यात नहुँदा यसको असर चिया उद्योगी, चिया किसानदेखि बगानमा कार्यरत मजदुरलाई पनि पर्ने उनले बताए । ‘चिया निर्यात नभएपछि उद्योगहरूले पत्तीको पैसा तिर्न सक्दैनन् । पैसा तिर्न नसकेपछि बगान सञ्चालकले पनि मजदुरलाई पैसा दिन सक्दैनन्,’ उनले भने, ‘चिया निर्यात नहुने हो भने ठूलो समस्या निम्तिन सक्छ ।’
भारतको टी बोर्डले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लंघन गरेको चिया उद्यमी उदय चापागाईंले बताए । ‘टी बोर्ड भारतको एउटा सानो निकाय हो । यसले नेपाली चियालाई घटिया भनेर रोक लगाएछ । नेपाली चिया कोलकाताको सेन्ट्रल फुड ल्याबमा परीक्षण भएर मात्र जान्छ । भारतकै ल्याबमा परीक्षण भएर गइरहेको नेपाली चियालाई कसले घटिया भन्ने अधिकार दियो रु’ उनले भने, ‘भारत र नेपाल सरकारबीचको सन्धि उल्लंघन भएको छ । यो बोर्ड सन्धिभन्दा त माथि होइन नि १’
नेपाली चियाको गुणस्तर भारतको भन्दा धेरै राम्रो रहेको पनि उद्यमी चापागाईंले बताए । नेपाली चिया भारत निर्यात गर्दा भन्सार शुल्क लाग्दैन । तर, भारत सरकारले वेला–वेला चिया निर्यातमा अवरोध गर्दै आएको छ । नेपालको अधिकांश चिया भारत जाने भएका कारण पनि वेला–वेलामा समस्या आउने गरेको नेपाल चिया उत्पादनक संघका पूर्वअध्यक्ष चण्डी पराजुली बताउँछन् । ‘नेपाली चिया भारतबाहेकका देश जान निकै मुस्किल छ । यही नेपाली चियालाई भारतले भारतीय चिया बनाएर तेस्रो देश लैजान्छ । तर, नेपाली चियाले अन्य देशमा बजार पाउन सकेन । राज्यको पहल नै पुगेन,’ उनी भन्छन्, ‘बंगलादेशमा नेपाली चियाका लागि भन्सार शुल्क उच्च छ । त्यहाँ हामी निर्यात गर्न सक्दैनौँ । पाकिस्तानमा नेपाली चियाको भन्सार शून्य छ । तर, ढुवानी खर्च नै महँगो छ ।’
गत वर्षको तुलनामा यस वर्ष चियाको मूल्य पनि आधा नै कम भएको संघका महासचिव गुप्ताले बताए । गत वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी तीन सयसम्म पुगेको उनको भनाइ छ । तर, यस वर्ष भने प्रतिकेजी एक सय ५० देखि एक सय ६० रुपैयाँसम्म मात्र रहेको उनले बताए । चिया निर्यातको समस्या सरकारले पहल गर्नुपर्ने नेपाल चिया तथा कफी विकास बोर्ड प्रदेश १ कार्यालय बिर्तामोडका निमित्त क्षेत्रीय निर्देशक गौरव लुइँटेलले बताए । ‘साफ्टा र विश्व व्यापार सम्झौताअनुसार भारतले यसरी रोक्न मिल्दैन,’ उनले भने ।
नेपालमा सिटिसी चिया वार्षिक करिब दुई करोड केजी उत्पादन हुँदै आएको छ भने करिब ७० लाख केजी अर्थोडक्स चिया उत्पादन हुन्छ । उत्पादनको ५० प्रतिशत सिटिसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको करिब २६ प्रतिशत हिस्सा चियाले ओगट्ने मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । नयाँ पत्रिकाबाट (फाइल तस्बिर)