२०८३ बैशाख १२ गते , शनिबार
नारायणी किनारमा ‘बा’ गज्रदैमा नेपाली जनताको उत्थान हुँदैन : राम कार्की
झापा । नेकपा माओवादी केन्द्रका प्रदेश १ का इन्चार्ज सुरेन्द्रकुमार (राम) कार्की ले चितवनको नारायणी किनारमा एउटा ‘बा’ गज्रदैमा समग्र नेपाली जनताको उत्थान नहुने बताएका छन् । मङ्गलवार माओवादी केन्द्र अर्जुनधाराको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले सत्यको मार्गमा हिँड्ने कम्युनिस्ट झुन्ड र व्यक्तिवादी चरित्रबाट मूल लक्ष्यमा पुग्न नसकिने बताए ।
उनले क्रान्तिका तीन चरण एक तयारीको काम, दुई क्रान्तिको बेला गरिएको काम, तीन क्रान्तिपछि गर्नुपर्ने काम सही भए कि भएनन् ? समीक्षा गर्ने एउटै मात्र दल माओवादी भएको हुनाले समीक्षा र छलफल गर्दै पार्टी पालिकास्तरमा अधिवेशनमा जुटेको बताए ।
उनले हामी आफ्नो आलोचना आफै गर्ने र बाँकी दिन सुधार्दै जाने रणनीतिमा रहेको जनाए । नेपालका माओवादी विज्ञानको पक्षमा रहेको हुँदा धर्म संस्कृतिभन्दा पनि पुस्तकालय, संगीतालय र खेल क्षेत्रमा बढी विश्वास राखेर काम गर्छन् । तर केही कम्युनिस्ट भनौदाहरु पुस्तकालयको साटो ठुलठुला आलिसान मन्दिर बनाउने, चिल्ला कार गाडीमा कुद्ने भएको हुँदा समग्र नेपाली जनताको विकास नहुने बताए ।
हामीलाई गणतन्त्र, सङ्घीयता र समावेशी प्रजातन्त्र गुम्छ कि भन्ने डर छ, त्यसलाई स्थायित्व प्रदान गर्न नेपाली जनता उठ्नै पर्ने दिन आएको बताए । प्रमुख अतिथि कार्कीले हामी जात व्यवस्था मान्दैनौँ तर, महिला र दलितलाई सम्मान गर्छौँ । पार्टी त्यस विषयमा अगाडि बढेको छ । त्यसैले क्रान्तिको मूल मन्त्रलाई समीक्षा गर्दै हाम्रा कार्यकर्ताहरू चोक र बजार धाउनुभन्दा गाउँमा बसेर सडक, कुलो, पानी जस्ता कार्य जनप्रतिनिधिले गर्यो गरेन रु नियाल्नुपर्ने बताए ।
उनले अगाडि भने, ‘गणतन्त्रमा मेयर र उपमेयरलाई ७० लाखको गाडी चढ्ने बनायौँ, त्यसको विरोध गर्न सकेनौँ । हाम्रो पार्टी स्थानीय क्षेत्रमा आउन सक्यो भने २० लाखभन्दा मुनिका गाडी कुद्नुपर्ने अवस्था बनाउँछौँ । उदाहरणको लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुखुरा बोक्ने गाडी चढे जस्तै स्थानीय सरकारलाई वा मन्त्रीलाई त्योभन्दा माथिका सुविधा दिने छैनौँ ।’
कार्यक्रममा विशिष्ट अतिथि माननीय धर्मशिला चापागाईँले नेकपा एमालेबाट जनताले पाएको धोका र क्रान्तिको नाममा सुविधा प्राप्त गरेर हिँडेको अवस्थालाई चिर्न नेकपा माओवादी गाउँ प्रवेश गरेको बताए । उनले सही कुरालाई समर्थन र नराम्रो कुरालाई आलोचना गर्न आफ्नो पार्टी अडिक भएको बताउँदै एमालेबाट पाएको धोका नेपाली जनताले बिर्सन नसक्ने दर्साए । उनले राजनीतिक योद्धा मनकुमार तामाङलाई यो अधिवेशनमा देख्न नपाउँदा क्रान्तिको भूमि झापा हो भनेर बिर्से जस्तो आफूलाई महसुस भएको बताए ।
उद्घाटन सभामा एमालेका लोकमान श्रेष्ठ, राप्रपाका लभ कुश गिरी र नेपाली काँग्रेसका हेमराज खरेल लगायतले शुभकामना व्यक्त गरेका थिए । नरकुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत नारायण पौडेलले गरेका थिए भने अधिवेशनमा प्रदेश सांसद झलकसिंह दर्लामी लगायतको उपस्थिति रहेको सञ्चालक अनिल सुवेदीले बताए ।