२०८३ बैशाख ३ गते , विहीबार
एनी फाक्तेप गोल्डकपको फाइनल भोलि, मुख्यमन्त्री राई आउँदै
झापा । झापाको शिवसताक्षी फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता गोल्डकप इतिहास कै एक नमुना हुने भएको छ।
समापन समारोहमा मुख्य मन्त्री राजेन्द्र राईलाई बाजागाजासहित फाक्तेप खेल मैदानमा लग्ने आयोजकले तयारी गरेसँगै फाक्तेप गोल्डकप ऐतिहासिक हुने निश्चित छ । गोल्डकपको इतिहासमा अहिलेसम्म कुनै पनि प्रमुख अतिथिलाई बाजागाजासहित खेल मैदानमा लगिएको छैन ।
आयोजक फाक्तेप फुटबल क्लबले समापन समारोहको प्रमुख अतिथिका लागि आमन्त्रण गरेको प्रदेश १ का मुख्य मन्त्रीलाई फाक्तेपका युवाहरूको टिमले तामझामका साथ डुडाँमारीदेखी स्कटिङसहित बाजागाजाका साथ खेल मैदान लग्ने तयारी गरेको छ ।
मुख्य मन्त्री आउने निश्चित भएसँगै फाक्तेपका युवाहरू थप उत्साहित भएका छन्। पहिलो पटक आयोजना गरेको गोल्डकपमा दर्शकको उल्लेख्य सहभागिताका साथ योगेश गुरुङ, कर्ण लिम्बुसहित विदेशी खेलाडीहरूको समेत सहभागिताले उत्साहित भएका युवाहरूमा समापन समारोहमा मुख्य मन्त्री आउने निश्चित भएपछि थप उत्साहित भएका हुन्।
प्रतियोगिताको उपाधिका लागि शनिवार अफ्रिकन खेलाडीहरू सहितको टोली तुर्केनी यूथ क्लब काँकडभिट्टा र विष्णु सुनुवार सहितको टोली धरान सिटी एफसी आमनेसामने हुँदैछन्। काँकडभिट्टाले जलथल एफसीलाई तथा धरानले पथरी एफसीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका थिए। प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार हात पार्ने छ भने उपविजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छ।