२०८३ बैशाख १२ गते , शनिबार

ओलीको गृह जिल्ला पुगेर माधव नेपालको उद्घोष– 'भविष्य छ भने हाम्रो पार्टीमा छ, बाँकी पार्टीको पत्तासाफ हुन्छ'

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २० गते , सोमबार
ओलीको गृह जिल्ला पुगेर माधव नेपालको उद्घोष– 'भविष्य छ भने हाम्रो पार्टीमा छ, बाँकी पार्टीको पत्तासाफ हुन्छ'

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले झापाको दमकमा कार्यकर्ताको भविष्य एकीकृत समाजवादी पार्टी रहेको बताएका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सोमबार नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । एमाले पार्टीले बाटो बिरायो । त्यो एउटा व्यक्तिको मुठ्ठीमा गयो ।

विचार र सिद्धान्तमा पनि सक्यो, आदर्श र संस्कार विहीन भयो । त्यो गुटको आधारमा चल्न थाल्यो । त्यहाँ लोकतन्त्र छैन, त्यहाँ छलफल र परामर्श हुँदैन । ‘त्यसको परिणाम हामीले चितवनमा देखेऔँ,’ उनले भने । ‘चितवनमा देखिएको कुम्भ मेला, त्यसपछि देखेऔँ तमासा, त्यहाँ एउटा व्यक्तिको हातमा सबै अधिकार, सामूहिकताको समाप्ति,’ उनले भने, ‘यो सबै अवस्था हामीले पहिलै नै महसुस गरेकाले हामीले नयाँ पाटी एस बनाएऔं ।’ यो पार्टीलाई विचार र सिद्धान्तमा केन्द्रित बनाएर जनताको माझ लाने बताउँदै उनले भने, ‘एक वर्षभित्र प्रदेश १ कै पहिलो पार्टी बनाउँछौ ।’ एमालेको सूर्यमा ग्रहण लागि सकेको छ । 

सूर्यलाई चुनौती दिन आएको छ कलम । ‘कमलमा शक्ति र ताकत हुन्छ, कलमले न्यायको आवाज उठाउँछ, सत्य कुरा भन्ने गर्दछ, अनन्तमा मानिसहरू सत्यको पछाडि उभिन्छन् र सत्यको जीत अवश्य हुन्छ,’ उनले भने । ‘अब भविष्य छ भने यही पार्टीको छ, अरू बाँकी पार्टीको पत्ता साप हुने वाला छ,’ उनले थपे । 

अब केही समयपछि चुनाव हुन गइरहेको छ  । राष्ट्रिय सभाको चुनाव । ‘अब हामी पाँच वटा पार्टी मिलेर चुनाव लड्ने बाला छौँ,’ उनले भने, ‘शक्ति बढाउनका लागि तालमेल गरिन्छ, विभिन्न पार्टीसँग सँगसँगै चुनाव लड्ने सहमति गरेका छौँ ।’ ‘राष्ट्रिय सभादेखि अब आउने तीनै तहको निर्वाचनमा पनि कुरा मिल्ने र सहमति गर्नेहरूसँग समन्वय र सहकार्य गर्ने छौँ,’ उनले भने ।  

  


सम्बन्धित समाचार