२०८३ बैशाख २० गते , आईतबार
परिवर्तन र विकासका लागि राप्रपा पहिलो शक्तिको रुपमा उदय हुने : राजेन्द्र लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि राप्रपा पहिलो शक्तिका रुपमा उदय हुने दाबी गरेका छन् ।
राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका अध्यक्ष लिङ्देनले राप्रपा अब अगृणी शक्तिको रुपमा स्थापित भएर जाने बताए ।
राप्रपा झापाले बिर्तामोडमा शनिवार आयोजना गरेको बधाई तथा शुभकामना एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सक्छ के, गर्छ के, हुन्छ के भन्दै लाग्दा लाग्दै राप्रपालाई पहिलो शक्तिका रुपमा स्थापित गरेर लाने र मुलुकको परिवर्तन र विकासका लागि पहिलो शक्तिको रुपमा उदय हुने दाबी गरे ।
‘म अध्यक्ष पदमा बस्ने रहरले मात्रै आएको छैन’ अध्यक्ष लिङ्देनले भने – हामीलाई अब चार वर्ष पछि हेरौँ, अलि पछि हेरौँ, पर्ख भन्ने सुविधा नभएकाले कार्यकर्ताले आफूलाई अध्यक्षमा निर्वाचित गराएको हो।
देशको परिवर्तन र विकासका लागि कसैले न कसैले आट गर्नु पर्छ भन्ने लागेर नै गरिएको आँटका कारण आफू अध्यक्षमा निर्वाचित भएको अध्यक्ष लिङ्देनले बताए।
आफू काँग्रेस र कम्युनिस्टलाई मिलाएर हिँड्न सक्ने मान्छे भएका कारण राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउँदै राप्रपालाई एक ढिक्का बनाएर लाने समेत उनको भनाई छ । आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा नआएको बताउँदै अध्यक्ष लिङ्देनले भने – पार्टीको आन्तरिक चुनावमा मलाई कसले मत दियो दिएन त्यो कहाँ हेरेर बस्छु म ? त्यसकारण कसैले चिन्ता लिनु पर्दैन पार्टीलाई एक ढिक्का र बलियो बनाएर लान्छु । लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका कारण कार्यक्रममा सयौँ पार्टीका कार्यकर्ताहरू सहभागी बनेका थिए । सोही समारोहमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा सयौँको सङ्ख्यामा प्रवेश गरेका थिए । कार्यक्रममा प्रदेश १ का अध्यक्ष राम थापा सहित केन्द्रीय सदस्यहरूले समेत शुभकामना मन्तव्य राखेका थिए ।