२०८३ बैशाख २० गते , आईतबार

काँग्रेस झापाको शपथ ग्रहण सम्पन्न

sajilo news
पार्थ मण्डल
२०७८ पौष १२ गते , सोमबार
काँग्रेस झापाको शपथ ग्रहण सम्पन्न
झापा । नेपाली काँग्रेस झापाको नवनिर्वाचित समितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । गत मङ्सिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात् शपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।

नवनिर्वाचित सभापति देउमान थेबेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं काँग्रेस नेता पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका थिए । त्यसपछि थेबेले निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई शपथ गराएका थिए । नेपाली काँग्रेस झापाका निवर्तमान सभापति उद्धव थापाले पार्टीको झन्डा एवं बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराएका थिए ।
सो क्रममा प्रमुख अतिथि सिटौलाले महाधिवेशनमा देखिएको गुटउपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिए ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई शुभकामना दिँदै नेता सिटौलाले भने–‘नेता–नेताबिच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनि मात्रै काँग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’
१४ औं महाधिवेशनबाट पार्टीमा युवाहरूको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले विचार दिएर सङ्गठन अघि बढाउन नसके चुनौती थपिने धारणा राखे ।

नेपाली काँग्रेस १ नं प्रदेश सभापति उद्धव थापाले नेपाली काँग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरूको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच ‘ब’ को नीतिको कार्यान्वयन एवं गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।
थापाको कार्यकालमा विचार, व्यवहार, व्यवसाय, विकास र विपद्मा काँग्रेस भन्ने पाँच ‘ब’ को नीति अघि सार्दै झापा काँग्रेस एवं भातृ सङ्गठनहरूलाई सशक्त बनाइएको थियो ।
काँग्रेसको सङ्गठन कमजोर भएर विगतको निर्वाचनमा काँग्रेसका उम्मेदवार पराजित नभएको दाबी गर्दै सभापति थापाले प्रदेश १ कै सङ्गठनलाई गुटरहित बनाउने र कार्यक्षमता एवं क्रियाशीलताका आधारमा कार्यकर्तालाई अवसर दिने उद्घोष गरे ।
नवनिर्वाचित सभापति थेबेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिँड्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं सांसद महेन्द्राकुमारी लिम्बू, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, काँग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेललगायतले बोलेका थिए ।
नेपाली काँग्रेस १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन समितिका सदस्य यज्ञप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईँ, निवर्तमान सचिव प्रेम सम्बाहाम्फे र निर्वाचन समिति सदस्य एवं प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेलीले संयुक्त रुपमा गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

यसैबिच नेपाली काँग्रेस झापाको सोमबार सम्पन्न पहिलो बैठकले यही पुस १६ गते पाँच वटै क्षेत्रमा क्षेत्र स्तरीय कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
यसै गरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं वीपी कोइरालाका सहयोद्धा आदिवासी नेता तुर्सा हेमरमको स्मृति दिवस पुस २० गते मनाउने, पुस २५ गते केन्द्रीय महामन्त्रीमा निर्वाचित झापाका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू केशवकुमार बुढाथोकी, सरिता प्रसाईँ, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल, प्रदेश सभापतिमा निर्वाचित उद्धव थापा एवं प्रदेश सदस्यहरूलाई सम्मान गर्ने निर्णय गरेको छ ।

देउमान थेबेको सभापतित्वमा सम्पन्न पहिलो बैठकले नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनमा उप विजयी बन्नुभएका सभापतिका उम्मेदवार राम कट्टेललाई काँग्रेसको विधान बमोजिम जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
१४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न वडादेखि जिल्ला तहसम्म खटिने निर्वाचन अधिकृत, सहायक अधिकृत, सहयोगी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज एवं सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव विमलीले जानकारी दिए ।
यसै गरी बैठकले क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ/नगर कार्यसमितिका बैठक यथाशीघ्र सम्पन्न गरी पार्टी सङ्गठनलाई सशक्त बनाउने, टोल समिति गठन, बुथ समिति गठनलाई तीव्रता दिने र उमेर पुगेका मतदाताहरूको नामावली अद्यावधि गर्ने कार्य अघि बढाउने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार