२०८३ बैशाख २२ गते , मंगलबार

गठबन्धनभित्रकै अन्तर्घातले ‘क्लिन स्वीप’ रोकियो

sajilo news
पार्थ मण्डल
२०७८ माघ १२ गते , बुधबार
गठबन्धनभित्रकै अन्तर्घातले ‘क्लिन स्वीप’ रोकियो

काठमाडौं । राष्ट्रियसभाका १९ सदस्यको आज (बुधबार) भएको चुनावमा पाँचदलीय सत्ता गठबन्धनले एक जनाबाहेक सबै जितेको छ।  गठबन्धनभित्रका दलकै अन्तर्घातका कारण प्रदेश १ मा गठबन्धनका उम्मेदवार पराजित भएका छन्। गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भए। 

शेर्पाले ४ हजार ७ सय ५२ मतभार पाए भने राईले ४ हजार ३ सय ६८ मतभार पाए। प्रदेश १ मा गठबन्धनका उम्मेदवार राई पराजित भएपछि गठबन्धनमै प्रश्न उठेको छ।   संसदमा प्रतिनिधित्व गर्ने ९ राजनीतिक दल सहभागी भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा होमिएका थिए।

निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने ८ सिटमा भागबण्डा गरेका थिए।आगामी २० फागुनमा राष्ट्रियसभामा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ सदस्यको पदावधि समाप्त हुँदैछ।

गठबन्धनका दलले रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको हो त्यही सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने गठबन्धनबीच सहमतिअनुसार उम्मेदवारी दिएका थिए। एमालेका रिक्त ८ सिटमध्ये कांग्रेसले ३, जसपाले २ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १र१ सिट हात पारेका छन्। 

प्रदेश १

प्रदेश १ को राष्ट्रियसभा सदस्यमा महिलातर्फ जयन्ती राई विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राई एकीकृत समाजवादीकी हुन्। उनले ४ हजार ६ सय ९२ मतभार पाइन् भने एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३ सय ६२ मत प्राप्त गरिन्। यसैगरी प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भए। एमालेका शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै  विजयी भएका हुन्। 

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत प्राप्त गरे। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश १ को अन्यतर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भए।  एमालेका उम्मेदवार गुरु बराललाई गोला प्रथामा हराउँदै कांग्रेसका बस्नेत निर्वाचित भएका हुन्। दुवै उम्मेदवारले बराबर मत पाएपछि राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार गोलाप्रथाबाट विजेता घोषणा गरिएको हो। बराल र बस्नेतले बराबर ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए। 

मधेश प्रदेश 

मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको चुनावमा गठबन्धनको महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जसपाका मोहम्मद खालिद सिद्धिकी विजयी भएका छन्। गठबन्धनकी अर्याल ६ हजार १ सय ५६ मतभार ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी एमाले–लोसपा गठबन्धनकी उम्मेदवार लोसपाकी रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्र ल्याइन्।महिलाबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत खसेको छ। उनलाई ३ सय ६ मतभार परेको हो। महिलातर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो।  अन्य समूहबाट जसपाका उम्मेदवार सिद्धिकीले ६ हजार ६ सय ७८ मत ल्याए। एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मत ल्याए। मतदानमा ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेका थिए।

बागमती प्रदेश 

बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।गठबन्धनबाट महिलातर्फकी उम्मेदवार बनेकी गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। तिमल्सिना एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसका हुन्।  स्थानीय तहतर्फ २ सय ३७ र प्रदेशसभातर्फ १ सय ६ गरि कुल ३ सय ४३ मत खसेको थियो। त्यसमध्ये तिमल्सिनाले स्थानीय तहबाट १ सय १६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन्। स्थानीय तहतर्फ उनको मतभार २ हजार ८८ रहेको छ भने प्रदेशतर्फ २ हजार ७ सय ३६ मतभार छ। 

 महिलातर्फ एमालेबाट उम्मेदवार बनेकी नीरुकुमारी कुँवरले स्थानीय तहतर्फ १ सय १७ र प्रदेशतर्फ ४७ मत पाइन्। उनको मतभार स्थानीयतर्फ २ हजार १ सय ६ र प्रदेशतर्फ २ हजार २ सय ५६ छ।  त्यसैगरी अन्यतर्फ गठबन्धनबाट विजयी पौडेलले स्थानीय तहतर्फ १ सय १७ र प्रदेशतर्फ ५६ मत पाउँदा एमालेका उम्मेदवार गोपाल शाक्यले स्थानीयतर्फ १ सय १६ र प्रदेशतर्फ ४७ मत पाए। पौडेल र शाक्यको प्रदेशतर्फको मतभार क्रमशः २ हजार १ सय ६ र २ हजार ८८ रहँदा प्रदेशतर्फ २ हजार ६ सय ८८ र २ हजार २ सय ५६ रहेको छ। नेमकिपाको महिलातर्फकी उम्मेदवार गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले स्थानीय र प्रदेश दुवैतर्फ समान २र२ मत पाए।

गण्डकी प्रदेश

पाँचदलीय सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशका सबै सिट जितेको छ। गठबन्धनले गण्डकीका ३ सिटका लागि भएको चुनावमा कांग्रेसकी कमला पन्त तथा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनारले जितेका हुन्।

पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेकी छन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २ हजार ७ सय २४ मतभार पाइन्। दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाए भने  एमालेका अर्जुनकुमार सुनामले २ हजार ७ सय २४ मतभार पाए। अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार पाएर राष्ट्रियसभा सदस्यमा विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका ३ जना राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार पाएका छन् भने एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३ सय १२ मतभार परेको छ। ३ जना राष्ट्रियसभा सदस्य छान्न ८१ जना प्रदेशसभा सदस्यले मत हालेका थिए। निर्वाचित हुनेमा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा छन्।  उनीहरूले एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई पराजित गरेका छन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका राष्ट्रियसभा सदस्यमा सत्तारूढ गठबन्धनकै ३ उम्मेदवार विजयी भएका छन्। आज भएको मतदान तथा मतगणनाको परिणामअनुसार गठबन्धनका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई हराएका हुन्। निर्वाचित हुनेमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली कांग्रेसको महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्र अपाङ्गतर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) रहेका छन्।  उनीहरूले नेकपा एमालेका महिलातर्फ गंगा थापा महत ९जुम्ला०, अपाङ्गरअल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुलातर्फ चूडामणि शर्मा (सुर्खेत) लाई पराजित गरेका हुन्। 

गठबन्धनबाट महिलातर्फ गुरुङले १ सय ९ मत प्राप्त गरेकी छन् भने एमालेकी गंगा थापा महतले ४४ प्राप्त गरेकी छन्। यस्तै अपांगरअल्पसंख्यकतर्फ गठबन्धनकै विष्टले १ सय ११ मत प्राप्त गरेका छन् भने एमालेका पदमबहादुर माझीले ४३ मत प्राप्त गरेका छन्। खुलातर्फ बोहोराले १ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने एमालेका चूडामणि शर्माले ४४ मत प्राप्त गरेका छन्।निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार राष्ट्रियसभाका ३ सदस्य छान्न कुल १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मतदान गरेका थिए। जसमा प्रदेशसभाका सदस्यको ३४ मत खसेको थियो भने पालिका सदस्यहरूको १ सय ५६ मतमध्ये १ सय ५५ मत खसेको थियो।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रियसभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनले सबै ३ सिट जितेको छ। खुल्लातर्फ कांग्रेसका नारायणदत्त मिश्र विजयी भए। उनको मतभार प्रदेशतर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ८ सय ७२ छ। उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले १ हजार ८ सय ६६ मत प्राप्त गरे। महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट समाजवादीकी मदनकुमारी शाह ९गरिमा० निर्वाचित भएकी छन्। शाहले ३ हजार ८ सय ६४ मतभार ल्याएकी हुन् भने उनकी प्रतिस्पर्धी एमालेकी सन्तोषकुमार शर्मा थापाले १ हजार ७ सय २६ मतभार ल्याइन्।  दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्।उनले १ हजार ८ सय ९० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नरेश विकले १ हजार ७ सय ८२ मत ल्याएर पराजित भए। थाहाखबरबाट 


सम्बन्धित समाचार