२०८३ बैशाख १२ गते , शनिबार
सशस्त्र प्रहरीद्वारा ५ लाख रुपैयाँ भन्दा बढीको काठ बरामद
झापा । सशस्त्र प्रहरीले झापाको दुई स्थानबाट करिब ५ लाख बढीको काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाले मेचीनगर नगरपालिका- ८ जोरसिमलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ९६८५ नम्बरको ट्रक चेकजाँच गर्दा सिसौ जातको २५० क्यु फिट काठ नियन्त्रणमा लिएको छ । सशस्त्रले काठको पत्र जाँच गर्दा मिति सकिएको पुरानो इजाजत पत्र भेटिएको थियो ।
करिब ३ लाख २५ हजार मुल्य पर्ने काठ र ट्रकलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा बुझाइसकेको छ ।
त्यस्तै सशस्त्र प्रहरीको सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोलीले दमक नगरपालिका- २ जिरो प्वाइन्टमा इलामबाट दमकतर्फ आइरहेको मे १ ज १६९८ नम्बरको बोलेरो पिकअप गाडीलाई चेकजाँच गर्दा ४७ क्यु फिट साल जातको चिरान काठ बरामद गरेको छ ।
बरामद गरिएको करिब २ लाख ३५ हजार मुल्य बराबरको काठ र गाडीलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय झापा बुझाइसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।