अविवाहित लता मंगेशकर कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलर, अब को होला यो सम्पत्तिको मालिक ?
काठमाडौं । ‘भारत रत्न’ लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ ।
लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले विश्वभरका करिब ३६ भाषामा ४० हजार बढी गीत गाएकी छन् ।
‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी लताको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा इन्दौरमा भएको थियो ।
उनका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकारका साथै मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए । लता मंगेशकर आफ्ना पिताका पाँच सन्तानमध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।
मधुबालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको स्क्रिनमा सायदै यस्ता कोही सेलिब्रिटी बाँकी छैनन् होला, जसलाई लता मंगेशकरले आफ्नो आवाज उधारो नदिएकी होस् । २० भन्दा बढी भारतीय भाषामा लताले ३० हजारभन्दा बढी गीत गाइन् ।
सन् १९९१ मै गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनी संसारभरी सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिका हुन् भनेर मान्यता दिएको थियो । भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत होस् वा साधारण फिल्मका गीत, लताले सबैजसो गीतमा स्वरको जादु चलाइन् ।
एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन् । लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । उनको अधिकांश कमाई गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो ।
उनले पहिलोपटक मराठी फिल्म ‘किति हसाल’का लागि गीत गाएकी थिइन् । यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन । उनको पहिलो कमाई २५ रुपैंयाँ थियो । तर जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौं सम्पत्तिको मालिक बनेकी थिइन् । अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैंयाँ थियो ।
लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो । उनी यही घरमा बस्थिन् । यो घरको मूल्य करोडौंमा पर्छ । लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए । लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए ।
लताले आजीवन विवाह गरिनन् । उनलाई दागबत्ती उनको भाइ हृदयनाथ मंगेशकरले दिएका थिए । जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन् । यद्यपि अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन ।
कार, कुकुर र क्रिकेटको शोख
लता मंगेशकर संसारका चर्चित सङ्गीतकार, मोजार्ट, बिथोवन, शोपिन, न्याट किंग कोल, बिटल्स, बारबरा स्ट्रिस्यान्ड र हेरी बेलाफोटका गीत सुन्न रुचाउँथिन् । एकपटक उनी जर्मन मूलकी अमेरिकी अभिनेत्री मार्लिन डिट्रिखलाई स्टेजमा अभिनय गरेको हेर्न विदेशसम्म पुगेकी थिइन् । उनलाई स्वीडेनकी अभिनेत्री इनग्रिड बर्गम्यानको नाटक हेर्न असाध्यै मनपर्दथ्यो ।
लतालाई फिल्म हेर्न पनि राम्रो लाग्थ्यो । उनको सबैभन्दा रुचाइएको हलिउड फिल्म द किङ एण्ड आइ थियो । यो फिल्म कम्तीमा १५ पटक हेरेको उनले बताएकी थिइन् । उनलाई मनपर्ने अर्को हलिउड फिल्म थियो सिङ्गिङ इन द रेन ।
लतालाई कारको असाध्यै शौख थियो । जीवनको भिन्न भिन्न मौकामा उनले खैरो रङको हिलम्यान र नीलो रङको शेवर्ले कार आफूसँग राखेकी थिइन् । यसबाहेक उनीसँग क्राइसलर र मर्सिडिज कार पनि थियो । उनलाई क्रिकेटको पनि असाध्यै ठूलो शोख थियो । उनी प्रायः रेकर्डिङबाट ब्रेक लिएर टेस्ट म्याच हेर्ने गर्थिन् । कुकुरको पनि शौखिन लताले घरमा ९ वटा कुकुर पालेकी थिइन् ।
खाना पकाउने र फोटोग्राफी उनको रुचिको अर्को विषय थियो । सुरुमा उनीसँग रोलिफलेक्स क्यामरा थियो । छुट्टीमा जब उनी अमेरिका जान्थिन्, उनी रातभरी स्लट मेसिनमा खेल्ने गर्थिन् ।
लता मंगेशकरलाई खाली समयमा शास्त्रीय सङ्गीतकार पण्डित रविशंकरको स्टुडियोमा देख्न सकिन्थ्यो । एकपटक त्यहाँ उनको भेट पण्डित रविशंकरका साथी जर्ज ह्यारिसनसँग भयो, जो इंगल्याण्डका चर्चित पप ग्रुप बिटल्सका गितारवादक थिए ।
सन् १९७९ मा लता मंगेशकरले ब्रिटेनको विश्वचर्चित रोयल अल्बर्ट हलमा रेन अर्केस्ट्रासँग गीत गाउने मौका पाइन् । यस्तो अवसर पाउने उनी पहिलो भारतीय थिइन् । लताले एकपटक भनेकी थिइन्, ‘म सधैँ यो मान्दै आएकी छु कि खुसी संसारसँग बाँड्नु पर्छ, जबकि दुःख सधैं एक्लै सहनुपर्छ ।’
लता मंगेशकरले मोहम्मद रफीदेखि किशोर कुमारसम्म आफ्नो समयका सबै प्रमुख बलिउड गायकसँग गीत गाएकी थिइन् । उनले राज कपुरदेखि गुरुदत्त र मणिरत्नमदेखि लिएर करण जोहरसम्म चर्चित फिल्म निर्देशकसँग काम गरेकी थिइन् । लता यस्ती गायिका थिइन्, जसले पार्श्व गायनमा पुरुषलाई चुनौती दिइन् । उनले मोहम्मद रफी जस्ता आफूभन्दा धेरै गीत गाएका गायकभन्दा बढी रोयल्टी र पारिश्रमिक पाइन् ।
एक पटक लताले भनेकी थिइन्, ‘म आज जे जस्तो छ,ु आफ्नो मिहिनेतका कारण छु । मैले आफ्नो अधिकारका लागि लड्न सिकेकी छु । मलाई कसैसँग पनि डर लाग्दैन । म असाध्यै साहसी छु । तर आज मैले जे जति पाएँ, त्यो पाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’ बलिउडका चर्चित लेखक सायर जावेद अख्तरले लता मंगेशकरको सुरिलो आवाजको तारिफ गर्दै भने, ‘उनको आवाज त मोतीजस्तो पाक र क्रिस्टलजस्तो साफ थियो ।’
एक पटक जब लतालाई बलिउडमा उनको कुन गीत लोकप्रिय थियो भनेर प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘मोहब्बत के नग्मे बढी लोकप्रिय रह्यो । नायिकाहरु भागिरहेका छन् र नायकहरु उनीहरुको पिछा गरिरहेका छन् ।’