२०८३ बैशाख १२ गते , शनिबार
चेक बाउन्सको मुद्दा मिलाइदिन्छु भन्दै ठगी बिर्तामोडका लिम्बु पक्राउ
झापा । चेक बाउन्सको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोडको सिटी सेन्टर क्षेत्रबाट बिर्तामोड –५ का ३६ वर्षीय दिनेश लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लिम्बुले बिर्तामोड– ६ का यम बहादुर बस्नेतबाट विभिन्न मितिमा २ लाख ३० हजार ठगी गरेका थिए । पुनः मुद्दा मिलाउन भनी रु।४ लाख माग गरेपछि ठगी गरेको घटना बाहिर आएको हो । बस्नेतसँग ठुलो रकम माग भएपछि उनले दिन नसक्ने बताएका थिए । बस्नेतले भने, त्यत्रो रकम म दिन सक्दिन भन्दा मलाई डर त्रास तथा धाक धम्की दिए ।
आफू ठगिएको थाहा पाएपछि बस्नेतले उक्त रकम दिलाई पाउँ र लिम्बुलाई आवश्यक कारबाही गरी पाउँ भनी इलाका प्रहरी कार्यालय अनारमनिमा उजुरी दिएका थिए । लिम्बुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनि राखेर म्याद थप गरी कानुनी प्रक्रिया अगाडी बढाएको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।