२०८३ बैशाख २२ गते , मंगलबार

स्थानीय तह निर्वाचन : कांग्रेसले तोक्यो झापाका १३१ वडामा प्रतिनिधि

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ३ गते , मंगलबार
स्थानीय तह निर्वाचन : कांग्रेसले तोक्यो झापाका १३१ वडामा प्रतिनिधि
झापा । नेपाली काँग्रेस झापाले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर झापाका १ सय ३१ वटा वडामा जिल्ला निर्वाचन प्रतिनिधि खटाउने निर्णय गरेको छ । नेपाली काँग्रेस झापाका सभापति  देउकुमार थेबेको सभापतित्वमा मङ्गलवार सम्पन्न कार्यसमिति एवं क्षेत्रीय सभापतिहरू सहभागी बैठकले झापाका १५ वटा पालिकाका १३१ वटै वडामा निर्वाचन प्रतिनिधि तय गरेको हो ।
‘वडा बलियो भए काँग्रेस बलियो हुन्छ’ भन्ने मूल नीति अवलम्बन गर्दै जिल्ला, क्षेत्र, प्रदेश, गाउँ/नगर र वडा कार्यसमितिसँग समन्वय गरेर कार्य गर्न निर्देशन गर्दै सबै वडामा जिल्ला प्रतिनिधि खटाइएको सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
यसैगरी नेपाली काँग्रेसका भातृ संस्थाहरू नेपाल महिला सङ्घ र तरुण दल एवं आवश्यकता अनुसार अन्य भातृ संस्थाको गाउँ/नगर अधिवेशन एवं बुथ केन्द्रित समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको सचिव नवीन विमलीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागि पार्टीले उम्मेदवार तय नगरीकन सामाजिक सञ्जालहरूमा  उम्मेदवारको रुपमा प्रचार–प्रसार नगर्न पनि नेपाली काँग्रेस झापाले सरोकारवाला सबैलाई आग्रह गरेको छ । नेपाली काँग्रेस केन्द्रीय समितिले यसअघि नै उम्मेदवार तय नगरेसम्म सामाजिक सञ्जालमा प्रचार–प्रसार नगर्न निर्देशन दिइसकेको अवस्थामा झापा जिल्ला कार्य समितिले पनि उक्त आग्रह गरेको हो ।
यसैगरी नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद गोपालकुमार बस्नेतलाई बधाई ज्ञापन गर्दै गठनबन्दन दलका सबै मतदाता, जनप्रतिनिधि, चुनाव प्रचार–प्रसारमा खटिने सबै नेता/कार्यकर्ताहरूमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त हुनुभएकामा झापा भद्रपुर निवासी प्रदेश सांसद ओमप्रकाश सरावगीलाई बधाई दिने निर्णय गरेको बैठकले  सङ्गठनको काममा सहयोगी भूमिका निर्वाह गर्ने झापा–काठमाडौँ सम्पर्क समितिलाई धन्यवाद दिने शिक्षक महासङ्घको आसन्न निर्वाचनमा सहयोग गर्न मातहत समितिलाई आह्वान गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकमा उपसभापतिहरू केशवराज पाण्डे, शेरबहादुर भट्टराई, पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापतिहरू इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, जयनारायण शाहले सम्बोधन गरेको उक्त बैठकलाई सचिवद्वय कृष्ण हुमागाईँ र नवीन विमलीले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार