२०८३ बैशाख २२ गते , मंगलबार
एमसीसीविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) र वाइसिएलद्धारा बिर्तामोडमा विरोध प्रदर्शन
झापा । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) र योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) झापाले एमसीसीविरुद्ध बिर्तामोडमा प्रदर्शन गरेका छन् ।
यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदमविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी) र वाईसिएलले प्लेकार्डसहित नारा जुलुससहित मुक्ति चोकमा र्याली प्रदर्शन गरे । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर लगायतका नारासहित बिर्तामोड मुक्ति चोकको परिक्रममा गरेका थिए ।
र्यालीपछि कोणसभामा परिणत सभालाई सम्बोधन गर्दै वाईसिएलका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज कुमार आचार्यले एमसीसी रोक्ने एक मात्र प्रचण्ड भएको बताउँदै एमसीसी विरुद्ध सदन र सडकबाटै आन्दोलनको आधी ल्याउने चेतावनी दिएका छन् । कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरूँ, अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश १ की उपाध्यक्ष मनीषा आचार्यलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए भने सञ्चालन अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ विजय, प्रदेश सदस्य बोधराज दाहाल असीम, डिल्ली घिमिरे हिक्मत, कुवेर श्रेष्ठ अरुण, ज्योतिसिंह दर्लामी, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य मदन खड्का, नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ इन्चार्ज भूपाल सापकोटा, झापा सचिवालय सदस्य बासूँ दुलाल, प्रकाश भट्टराई, बिर्तामोड नगर इन्चार्ज युवराज दाहाललगायतको उपस्थिति रहेको थियो ।