२०८३ बैशाख ४ गते , शुक्रबार

झापा गोल्डकपको पाँचौँ संस्करण : मस्कट, गीत र नारा सार्वजनिक

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
झापा गोल्डकपको पाँचौँ संस्करण : मस्कट, गीत र नारा सार्वजनिक

झापा ।  झापा गोल्डकपको पाँचौँ संस्करणको मस्कट, गीत र नारा सार्वजनिक गरिएको छ। झापा गोल्डकप मुल आयोजक समितिले बिहीवार बिर्तामोडस्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मस्कट, गीत र नारा सार्वजनिक गरेको हो।

गोल्डकप यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुन लागेको छ। गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए।

झापाको भूगोल र यहाँका फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल खेलको हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको अध्यक्ष बस्नेतको भनाइ छ। गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको संगीत रहेको छ। यस्तै‚ डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाको स्वर रहेको छ।

गोल्डकपको औपचारिक मस्कटका रुपमा हात्तीको छावा राखिएको छ। मस्कटमा छावाले फुटबल हान्दै गरेको राखिएको छ। मस्कटको निर्माण कलाकार पवन राजवंशीले गरेका हुन्। यो वर्षको झापा गोल्डकपको नारा ‘हाम्रो गौरव, हाम्रो मान, झापा गोल्ड कप हाम्रो सान्' तय गरिएको छ। झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ नारा तय गरिएको अध्यक्ष बस्नेतले बताए। गोल्डकप नजिकिएसँगै डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत कार्य सुरु समेत गरिएको छ। खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने काम धमाधम भइरहेको छ। रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए।

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए। त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ। गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।  

सम्बन्धित समाचार