राजेन्द्र लिङदेनले राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेपछि पार्टी ब्यूँताएँ : कमल थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा उनले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरूलाई पाखा लगाउने र धकेलेर पर पुर्याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए।
अध्यक्ष थापाले आफूहरूले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्दीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको स्पस्टपारे।
आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटकपटक दोहोर्याए। उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि जनाए।
अध्यक्ष थापाले भने, ‘मेरो त्यो अनुरोध केवल व्यक्तिगत अनुरोध मात्रै थिएन। देशभर धेरै ठूलो संख्यामा रहेका पार्टी कार्यकर्ताहरूको भावना त्यसमा गाँसिएको थियो। तर त्यसलाई नजर अन्दाज गरेर मेरो एउटा सामान्य मागलाई रद्दीको टोकरीमा फाल्ने काम गरियो। त्यसपछि एक पक्षीय ढंगबाट, पूवाग्रहपूर्ण ढंगबाट पार्टी संचालन गर्ने कामहरू भयो। हामीलाई योजनावद्ध रुपमा पाखा लगाउने, पार्टीबाट धकेलेर पर पुर्याउने परिस्थितिको निर्माण भयो।
आफूहरूमा कसैप्रति नकारात्मक भाव नरहेको भन्दै यो पार्टी अन्य कुनै पार्टीको विरुद्धमा खुलेको पनि स्पस्टपारे। राष्ट्रियतालाई बलियो बनाउने, सनातन धर्म, संस्कृतिको संरक्षण गर्दै नेपाललाई हिन्दुराष्ट्र बनाउने, उदार अर्थतन्त्र र सुशासनको माध्यामबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उनको भनाइ थियो।
थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताए। कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरूले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे। थाहाखबरबाट