अन्नतः एमसिसी संसदमा टेबल, यस्तो छ सांसदहरुको प्रतिक्रिया
झापा । अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठक अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।
मन्त्री कार्कीले एमसिसी टेबल गरिरहँदा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले पनि यसविरूद्ध नाराबाजी गरेका थिए। संसद बैठक सकिएपछि बाहिरिने क्रममा पनि नेताहरूले एमसिसीका पक्ष र विपक्षमा प्रतिक्रिया दिएका छन्।
एकीकृत समाजवादीका सम्मानित नेता रहेका सांसद झलनाथ खनालले आजको दिन लज्जाको विषय भएको बताए। उनले महाशक्तिसँग झुकेर करार सम्झौतालाई संसदमा पेस गरिएको बताए। मन्त्री कार्कीले एमसिसी सम्झौता टेबल गर्दा खनालले नाराबाजी गरेका थिए।
‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ। यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ। नेपाल ट्रयापमा परेको छ। भोलिका दिनमा अझ समस्या थपिने निश्चित छ’, खनालले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीमा आफूहरूको समर्थन नरहेको बताए। उनले सरकार जेसुकै भए पनि आफूहरूले एमसिसीलाई समर्थन गर्न नसक्ने बताए।
एकीकृत समाजवादीबाट मन्त्री बनेकी सांसद रामकुमारी झाँक्रीले भने पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार नै एमसिसी संसदमा टेबल गर्न सहमति दिइएको बताइन्। उनले अब यो संसदको विषय भएकाले सांसदहरूले निर्णय गर्ने तर्क गरिन्।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताए। उनले एमसिसीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नुपर्ने बताएका हुन्।
‘आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ। यो नेकपाको सरकार मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भएको हो। यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती र मुर्दावाद हो भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ,’ उनले अगाडि भने,‘ यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने, पुष्पकमल दाहाल र माधव नेपाल मुर्दावाद भनेर पार्टीकै सासंदहरूले नाराबाजी गर्नुपर्छ। त्यसपछि मात्रै उहाँहरूले यसका बारेमा कुरा राख्नुपर्छ।’प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसद भीम रावल एमसिसी संसदमा टेबल हुनु गैरकानुनी भएको बताए।
‘यो गैरकानुनी र नेपाली जनताको आवाजलाई कुल्चने दुष्प्रयास हो। यसको निन्दा गर्नुपर्छ। नेपाली जनताले यसको आवाज उठाउनु पर्छ,’ सांसद रावलले भने। कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसिसी संसदमा पेस भएसँगै सडकको बहस संसदमा पुगेको बताए।
‘यो सकारात्मक कुरा हो। अब जनताको सार्वभौम निकाय संसदले यसमा छलफल गरेर यथार्थ कुरा जनताला बताउनु पर्छ,’ मन्त्री बडुले भने। संसदीय प्रक्रियाअनुसार अब फागुन १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तावबारे छलफल सुरू हुने उनले बताए।
‘तपाईंहरूले देख्नुभयो आज पनि केही सांसदहरूले आफ्ना धारणाहरू राख्नुभएको छ। अब १२ देखि यसमा थप छलफल हुन्छ,’ मन्त्री बडुले भने। सेतोपाटीबाट साभार