२०८३ बैशाख २४ गते , विहीबार

एमसिसीको विरोधमा भद्रपुरमा माओवादी केन्द्रको मोटरसाइकल र्‍याली प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ८ गते , आईतबार
एमसिसीको विरोधमा भद्रपुरमा माओवादी केन्द्रको मोटरसाइकल र्‍याली प्रदर्शन

भद्रपुर । नेपालमा लागु गर्न लागिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा झापाको सदरमुकाम भद्रपुरमा आइतबार मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजनामा भद्रपुरमा मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको हो ।

भद्रपुर- १ पृथ्वीनगरस्थित हिमाली चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली सगरमाथा चोक, ज्ञानेचोक, आपगाँछी, भद्रपुर भन्सार कार्यालय अगाडीबाट भद्रपुर बजार हुँदै लेखनाथ चोक, धनुषमोड, देवकोटा चोक, डागीवारी, प्रशासन कार्यालय अगाडीबाट ट्रेड  युनियन चोकमा आएर कोण सभामा परिणत भएको नगर इन्चार्ज नरेश सन्जेलले जानकारी दिए ।र्‍यालीमा सहभागीहरूले गो ब्याक एमसिसी, एमसिसी परियोजना खारेज गर, देश बेच्न पाइँदैन, सबै खाले दलालहरू होसियार लगायतको चर्को नाराबाजी गरेका थिए ।

यता कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्र प्रदेश १ का सदस्य डिल्ली घिमिरे (हिक्मत)ले इतिहासमै कहिले कसैको शासनमा नरहेको हाम्रो देशलाई एमसिसी लागु गरेर पराधीन बनाउने चलखेलविरुद्ध सडकमा उत्रिनु परेको बताए । ‘हाम्रा वीर पुर्खाहरूले बहादुरी पूर्व लडेर स्वतन्त्र बनाएको देशलाई कायर शासकहरूले अमेरिकन साम्राज्यवादका अगाडी घुँडा टेक्ने दुष्प्रयास गरिरहेको छ,’ उनले भने, ‘एमसिसीको नाममा नेपालमा व्यापार छिराउने काम यहाँका दलालहरूले गरिरहेका छन्, खबरदार ! एमसिसी रोक्न नेपाली जनता त्यसका लागि बलिदान दिन पनि तयार छ ।’'


अमेरिकन साम्राज्यवाद र दलालहरूको अगाडी नेपाली जनता कुनै पनि हालतमा झुक्ने छैन । ‘हामी कुन अनुदान लिने वा नलिने हाम्रो देश स्वतन्त्र छौँ, न त यसमा अमेरिकाको हस्तक्षेप हामीलाई स्वीकार छ, न त चीनको हस्तक्षेप हामीलाई स्वीकार हुन्छ,’ उनले भने ।

त्यस्तै माओवादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले एमसिसी परियोजना देशको संविधान विपरीत रहेकोले त्यसलाई नेपाली जनताले कदापि स्वीकार नसक्ने बताए । एमसिसी परियोजनाको देशभर चौतर्फी विरोध हुँदाहुँदै नेपाली जनताको सार्वभौमसत्ता र राष्ट्रिय सत्ताको अधिकारलाई कुल्चिएर एमसिसी जस्तो घातक सम्झौता हुन नदिन विरोधमा उत्रिएको उनको भनाई छ ।   



सम्बन्धित समाचार