२०८३ बैशाख २४ गते , विहीबार
एमसिसीविरुद्ध बिर्तामोडमा राप्रपाको प्रदर्शन
झापा । अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसिसी मुर्दावाद, एमसिसी खारेज गर , देश बेच्न पाइँदैन , भ्रष्ट नेता चाहिँदैन’ जस्ता नारा लगाउँदै राप्रपाले एमसिसीको विरोध गरेको हो ।
राप्रपा क्षेत्र नम्बर २ तथा सम्पूर्ण भातृ सङ्गठनद्वारा आयोजित र्याली बिर्तामोड बजार परिक्रमा गरी मुक्ति चौकमा कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै क्षेत्रीय अध्यक्ष दीपक मास्केले एमसिसीको विरुद्ध सम्पूर्ण देशभक्ति शक्ति एक नभए भोलि लिबिया, सुडान र अफगानिस्तानको जस्तो हालत नेपालीहरूले भोग्नुपर्ने चेतावनी दिए । उनले श्रीलङ्कामा एमसिसी सम्झौता गरेर अमेरिकाले समानान्तर सरकार चलाउन खोज्दा आन्दोलन गरेर एमसिसी फिर्ता गर्नुपरेको उदाहरण प्रस्तुत गरे । देश अनुदानले नबनेर जनताको श्रम र पसिनाले बन्ने उनको भनाई थियो ।
कोणसभामा पार्टीका नगर अध्यक्ष रन्जु प्याकुरेल , युवा नेताहरु ध्रुव उप्रेती , केशव कार्कीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन शिखा खड्काले गरेकी थिइन् । सरकारले फागुन ८ गते संसद्मा पेस गरेर एमसिसीमाथि छलफल सुरु गर्न लागेपछि राप्रपाले देशव्यापी आन्दोलन सुरु गरेको छ ।