भद्रपुरमा एमसिसीबारे जनमत सङ्ग्रह, ९७ प्रतिशत मत विपक्षमा
भद्रपुर । प्रतिनिधि सभामा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्ने वा नगर्ने बारेमा झापाको सदरमुकाम भद्रपुरमा शनिवार जनमत सङ्ग्रह गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटी प्रचार विभागले भद्रपुर- ५ स्थित भद्रपुर नगरपालिका कार्यालयको पुरानो भवनको गेट अगाडी नेपालमा एमसिसी चाहिन्छ वा चाहिँदैन भन्दै जनमत सर्वेक्षण गरेको छ ।
शनिवार दिउँसो १ बजेदेखि ३ बजेसम्म गरिएको जनमत सर्वेक्षणमा १५४ जनाले मत दिएको प्रचार विभागका संयोजक राजु पाठकले जानकारी दिए । त्यसमा १४९ जना एमसिसीको विपक्षमा, चार जना पक्षमा र एक जना खाली (तटस्थ) मत दिएको उनले बताए । छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत विपक्षमा देखिएको उनले बताए ।
जनमत सर्वेक्षण कार्यक्रममा माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी, नगर इन्चार्ज नरेश सन्जेल, महिला इन्चार्ज स्वर्णिका सिंह, ५ नम्बर वडा अध्यक्ष बुद्धिमान लिम्बु लगायतको उपस्थिति रहेको थियो । यसअघि पनि माओवादी केन्द्रले जिल्लाका विभिन्न पालिकामा जनमत सङ्ग्रह गरिसकेको छ ।