२०८३ बैशाख २४ गते , विहीबार

एमसिसी अनुमोदन गर्ने माओवादीको निर्णय, पार्टीका केही नेता भने असन्तुष्ट

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १५ गते , आईतबार
एमसिसी अनुमोदन गर्ने माओवादीको निर्णय, पार्टीका केही नेता भने असन्तुष्ट

झापा । पाँच दलीय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने निर्णयप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। 

पाँच दलीय गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्। 

उनले ट्वीटरमा लेखेका छन्, ‘५ दलीय गठबन्धनमा अध्यक्ष क। प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ। यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।’ 

उनले आज बिहानको पार्टीको छलफलमा आफूलगायत केही नेताहरूले  मतभेद राखिसकेको बताएका छन्। माओवादीको आजको निर्णयले  महाधिवेशनको विरुद्ध भएकाले गलत भएको उनको ठहर छ। यस्तै, एमसिसी अनुमोदनको पक्षमा उभिने निर्णयप्रति आफूहरुले गम्भिर असन्तुष्टि राखेको अर्का नेता लीलामणि पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘एमसिसीमा धेरै राष्ट्रहितविपरित बुँदा छन्। अहिले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने भनिएको छ। यसले सम्झौतामा कुनै असर गर्दैन। त्यसैले त्यसको कुनै अर्थ छैन।’

 पार्टीभित्र आफूहरुले यसको विरुद्ध चर्को आवाज उठाएको समेत बताए। एमसिसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी  शिर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महरा लगायतले असन्तुष्टि जनाइरहेका छन्। थाहाखबरबाट

सम्बन्धित समाचार