२०८३ बैशाख ४ गते , शुक्रबार
प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन २५ मा
झापा । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आइतबार गाउँपालिकाको सभा हलमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।
फागुन २५ गते देखि सुरु हुने अध्यक्ष कपमा प्रदेशभरिका ८ वटा टिमको सहभागिता रहने आयोजक समितिले जनाएको छ । जस अन्तर्गत धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चार तारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहने जनाएको छ ।
कमल गाउँपालिका- ३ स्थित केरखा खेल मैदानमा दिनको ठिक १ बजे देखि खेल सञ्चालन हुनेछ । जसमा पहिलो उद्घाटन खेल फागुन २५ गते आयोजक टिम समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समिति र टेम्के फुटबल क्लब धरान सुनसरीबिच हुनेछ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।
खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरू पुरस्कृत हुनेछन् ।
कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुर्भुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, लेखा अधिकृत सृजना राई, खेल संयोजक तेजकुमार राई, खेलकुद समिति सदस्य सन्त खालिङ, सुदिप थुलुङ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई भव्यताका साथ सफल बनाउनका लागि आवश्यकता अनुसार उपसमितिहरू समेत निर्माण गरिएको छ । जसमा स्वयंसेवक तथा खेल मैदान व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि सत्कार तथा सम्मान उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र खाद्यान्न व्यवस्थापन उपसमिति निर्माण गरी तीव्र रुपमा तयारी थालिएको आयोजक समितिले बताए ।