२०८३ बैशाख १२ गते , शनिबार

भूमिगत समूह हिमाल सुरक्षा परिषदद्वारा ‘सशस्त्र युद्ध’को घोषणा, प्रहरी-प्रशासन अनविज्ञ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १६ गते , सोमबार
भूमिगत समूह हिमाल सुरक्षा परिषदद्वारा ‘सशस्त्र युद्ध’को घोषणा, प्रहरी-प्रशासन अनविज्ञ
झापा । भूमिगत शैलीमा आतङ्क सिर्जना गरिरहेको हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्धको घोषणा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै हिमाल सुरक्षा परिषद् नेपालले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग गर्दै सशस्त्र युद्धको घोषणा गरेको हो ।

हिमाल सुरक्षा परिषद् नेपालका केन्द्रीय अध्यक्षको हस्ताक्षरसहित प्राप्त विज्ञप्तिमा भनिएको छ– यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रोही र खर्चिलो सङ्घीयतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गर्दछौँ । परिषद्ले विभिन्न २० बुँदे मागहरू पनि राखेको छ ।

सङ्घीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रै कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू अघि सारेको छ ।

यसैबिच झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गरेको हिमाल सुरक्षा परिषद् नेपालका ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । विज्ञप्तिको विषयमा भने झापा प्रहरीले अनविज्ञ ता प्रकट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले भने–हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्ध घोषणा गरेको विषयमा कुनै जानकारी प्राप्त छैन । उनले हिमाल सुरक्षा परिषद् नेपाल एउटा आपराधिक समूह भएकाले उनीहरूको खोजी तीव्र बनाइएको जानकारी दिए ।

सञ्चारमाध्यमलाई हिमाल सुरक्षा परिषद् नेपालको पत्र प्राप्त भएको जानकारी लगत्तै झापामा हिमाल सुरक्षा परिषद्को खोजीलाई अझ सुस्म ढङ्गले अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए । उनले भने– हिमाल सुरक्षा परिषद्को नाममा चन्दा आतङ्क सिर्जना गर्ने समूह सक्रिय रहेको छ । हिमाल सुरक्षा परिषद् नेपालका केही शङ्कास्पद व्यक्ति प्रहरीको निगरानीमा रहेको र केही अझै फरार रहेकाले खोजी तीव्र बनाएको प्रहरी निरीक्षक तिम्सिनाले बताए ।

प्रहरीले यसअघि हिमाल सुरक्षा परिषद् नेपालका गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईँ, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, सङ्खुवासभा खाँदवारि–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई लाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार