२०८३ बैशाख ३ गते , विहीबार
इलाममा २९ फागुनबाट राष्ट्रिय कराँते प्रतियोगिता
इलाम । इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदीप सैजुले जानकारी दिए । सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १÷१ टिमको सहभागिता रहने जनाइएको छ । आयोजक टिमको रुपमा सूर्योदय नगरपालिकाले समेत खेल्ने सैजुले बताए ।
कमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीहरूले सहभागिता जनाउनेछन् । त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । कुमेत खेलमा सहभागी खेलाडीहरू मध्येबाट १/१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने इलामका कराँते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए । कराँतेको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए । प्रतियोगितामा सहभागी प्रदेशका टिमहरूलाई आवास र खानपानको व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईले बताए । प्रदेश १ को टिम आगामी फागुन २० गते जिल्ला भरका डोजोबाट छनौट गरिने जनाइएको छ ।
यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराँते सङ्घको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो । जसमा नेपाल, भारत, भुटान, बङ्गलादेश र दुबईको टिम सहभागी थिए । कोभिड सङ्क्रमणका कारण विगत ३ वर्ष देखि ठप्प बनेको इलामको कराँते मेयर कप प्रतियोगिताबाट चलायमान बन्न लागेको हो ।