भद्रपुरमा पहिलो पटक रात्रिकालीन भलिबल प्रतियोगिता हुने
झापा । भद्रपुरमा पहिलो पटक रात्रिकालीन वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ । भद्रपुर– ५ स्थित भद्रपुर युवा परिवारको आयोजनामा यही चैत ६ देखि ८ गतेसम्म रात्रिकालीन भलिबल प्रतियोगिता हुन लागेको हो ।
भर्खरै गठित भद्रपुर युवा परिवारले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । भद्रपुर उच्च माविको खेल मैदानमा आयोजित हुने प्रतियोगितामा नगर क्षेत्रका १० वटा वडाले सहभागिता जनाउने युवा परिवारका अध्यक्ष बिर्जु सहनीले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने उनले बताए ।
रात्रिकालीन प्रतियोगिता सम्पन्न गराउन करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा परिवारका कोषाध्यक्ष रविकुमार मुखियाले जानकारी दिए । प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन विभिन्न दाता र सङ्घसंस्थाबाट सहयोग जुटाउने उनको भनाई छ ।
पत्रकार सम्मेलनमा राप्रपाका क्षेत्रीय सभापति नवराज पनेरु ९राजु०, राप्रपा ५ नम्बर वडा अध्यक्ष देवकुमार घिमिरे लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन युवा परिवारका सचिव सिकेन्द्र यादवले जानकारी दिए ।
यता भर्खरै अध्यक्ष सहनीको नेतृत्वमा भद्रपुर युवा परिवार गठन गरिएको छ । युवा परिवारको उपाध्यक्षमा भरत यादव, सचिवमा सिकेन्द्र यादव, सहसचिवमा सञ्जय चौधरी, कोषाध्यक्षमा रविकुमार मुखिया रहेका छन् । त्यस्तै सदस्यहरूमा सुशील यादव, दीक्षा झा, माम्पी दास, आयुष झा, रिंकु दास र अमर पासवान रहेका छन् । गठित युवा परिवारले चाँडै विधान बनाएर जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गराउने अध्यक्ष सहनीले जानकारी दिए ।