जावलाखेललाई ट्राइब्रेकरमा पराजित गर्दै सातदोबाटो झापा गोल्डकपको क्वाटरफाइनलमा
झापा । ट्राइब्रेकरमा भाग्यमानी साबित हुँदै सातदोबाटो यूथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । अब सातदोबाटो क्वाटर फाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग भिड्ने छ । बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिवार भएको उद्घाटन खेलमा सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेल यूथ क्लबलाई पराजित गरे ।
टाइब्रेकरमा जावलाखेलका राजन रावलको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेपछि सातदोबाटोको विजय निश्चित बनेको थियो । सँगै जावलाखेलको एउटा प्रहार गोल पोस्टबाट बाहिरिएको थियो ।
खेल सुरु भएको ३ मिनेटमै सातदोबाटोको तर्फबाट विदेशी खेलाडी अजयी मार्टिन्सले एक गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १२ औं मिनेटमा जावलाखेलका जुनियरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । ३५ औं मिनेटमा जावलाखेलका जुनियरले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाए । जावाखेलले पहिलो हाफमा एक गोलले अग्रता लिए पनि दोस्रो हाफको ४८ औं सातदोबाटोका आशिष् राईले गोल गर्दै खेल बराबरीमा पारे । नीरज चौधरीकै पासमा राई जावला खेलका गोल रक्षक ईश्वर गुरुङ बिट हुँदा गोल गर्न सफल भए ।
पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ नगद पाए । भोलि आइतबार हुने दोस्रो दिनको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुने छ ।
यता झापा गोल्डकपको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे । ओलीले केक काटेर गोल्डकपको उद्घाटन गरेका हुन् । झापा गोल्ड कपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल यूथ क्लब सहभागी भएको छ । गोल्ड कपमा दुई भारतीय टिम एमएफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी भएका छन् ।
झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेनडर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउने गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।