झापा गोल्डकप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाइनलमा
झापा । थ्री स्टार क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको क्वाटर फाइनलबाटै बाहिरिएको छ । उपाधिका दाबेदार मानिएका थ्री स्टारलाई संकटा क्लबले २–० गोल अन्तरले पराजित गरेको छ ।
झापा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको संकटा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघिका तीन संस्करणमा सहभागी थ्री स्टार हरेक पटक सेमिफाइनलसम्म पुगेको थियो । तर, यस पटक संकटाले थ्री स्टारलाई क्वाटर फाइनलमै रोक्दै उपाधि हात पार्ने लक्ष्यका साथ अघि बढिरहेको छ । प्रतियोगितामा संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरिसकेको छ ।
बिर्तामोड नगरपालिका– ३ स्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको क्वाटर फाइनल खेलमा संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे । थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए । खेलको ३६ औँ मिनेटमा संकटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो ।
४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रवीन्द्र शिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए । त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।
बुधवार हुने क्वाटर फाइनल खेल विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।