२०८३ बैशाख २४ गते , विहीबार
संसद् अवरुद्धका बीच हतारमा एमसिसी पास गरियो : खरेल
भद्रपुर । नेकपा एमाले झापाका इन्चार्ज अग्नि खरेलले सत्ता गठबन्धनका दलहरूले संसद् अवरुद्धका बेला हतारमा एमसीसी पास गरे बताएका छन् ।
मंगलबार एमाले भद्रपुरको नगर सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य समेत रहेका खरेलले त्यस्तो बताएका हुन् ।
उनले १४ जना सांसदलाई कारबाही नगरेसम्म संसद् अवरुद्ध रहने बताए । ‘सत्ताका गठबन्धन दलहरूले संसद् अवरुद्धका बेला हतारमा एमसीसी पास गरे’,–‘१२ बुँदे व्याख्यात्मक टिप्पणी भन्दै जनतालाई भ्रमको खेती गरेका छन् । ५ वर्षका लागि आएको यो योजनालाई खबरदारी गर्न आवश्यक छ ।’
संसद्मा एमाले सरकारका बेला एमसीसी दर्ता गर्ने प्रक्रियामा गएकै हो । तर, ४ वर्षअघि नै झलनाथ खनाल, माधवकुमार, नेपाल, डा. बाबुराम भट्टराई र माओवादीले सम्झौतामा हस्ताक्षर र पत्राचार गरेको उनको दाबी छ ।
एकीकृत समाजवादी पार्टी (एस) लाई नक्कली पार्टीको संज्ञा दिँदै नेता खरेलले एस र माओवादी केन्द्रका कारण कांग्रेसले सुकुमबासीको समस्या समाधान गर्न नसकेको ठोकुवा गरे ।
नेता खरेलले गरिब, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको धारणा राखेका थिए ।
‘बुढेसकालको सहारा एमाले पार्टी हो’, नेता खरेलले भने– ‘राष्ट्र हित र विकासमा निरन्तर क्रियाशील एमाले गरिब, विपन्न नागरिकको उन्नति, भलाइका लागि सधैँ योगदान गरिरहने छ ।’
एमाले सरकार रहँदा मुलुकमा विकासको लहर छाएको भन्दै नेता खरेलले आगामी निर्वाचनबाट एमाले नै पहिलो र ठुलो पार्टी हुने दाबी समेत गरेका छन् ।
कार्यक्रममा एमाले झापाका अध्यक्ष दीपक कार्कीले आउँदो चुनावमा सूर्यमा भोट हाल्न तयार हुन आग्रह गरेका छन् । उनले विगतको चुनावमा सूर्यमा भोट हाल्न नपाएको भन्दै आउँदो चुनावमा झापा क्षेत्र नम्बर ३ का जनताले सूर्यमा मतदान गर्न पाउने बताए ।
कार्यक्रममा करिब ५ सय जना विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ । नवप्रवेशीहरुलाई प्रमुख अतिथि खरेल, केन्द्रीय सदस्य दुर्गा प्रसाईँ, प्रदेश सांसद वसन्त बानियाँ र झापा अध्यक्ष दीपक कार्की लगायत नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
सोही अवसरमा ज्येष्ठ महिलाहरूलाई ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान समेत गरिएको थियो ।