२०८३ बैशाख ३ गते , विहीबार

झापा गोल्डकप: सिक्किमको रेडपान्डामाथि सानदार जित निकाल्दै झापा ११ सेमिफाइनलमा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २६ गते , विहीबार
झापा गोल्डकप: सिक्किमको रेडपान्डामाथि सानदार जित निकाल्दै झापा ११ सेमिफाइनलमा

झापा । पाहुना टोली सिक्किमको रेडपान्डा (आरपी) एफसीमाथि सानदार जित निकाल्दै झापा ११ पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

झापा ११ अब सेमिफाइनलमा संकटा क्लबसँग भिडेनछ । संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पाँचौँ संस्करण चलिरहँदा झापा ११ अघिल्ला चारवटै संस्करणको फाइनलसम्म पुगेको थियो ।  

बिर्तामोड ३ स्थित घरेलु मैदान डोमलाल राजवंशी रंगशाला बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा झापा ११ ले रेडपाण्डालाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । झापा¬–११ का लागि विमल घर्ती मगर, विशाल राई ९बी०, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा¬–११ लाई एक गोल उपहार दियो ।

रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा¬–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।


५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए ।

७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।

 तर, ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए ।

खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्‍याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । भोलि शुक्रबार पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र सातदोबाटो यूथ क्लब बिच हुँदैछ । 



सम्बन्धित समाचार