झापा गोल्डकप : फाइनल प्रवेशका लागि आज झापा ११ र संकटा भिड्दै
झापा । पाँचौ संस्करणमा झापा गोल्डकपको फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ फुटबल क्लब र काठमाण्डौँको संकटा क्लब आज प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेल ३ बजे सुरु हुनेछ ।
जारी गोल्डकपको अन्तिम सेमिफाइनलमा झापा र संकटा आमने सामने हुन लागेका हुन् । पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किमसँग झापाले सोझै अन्तिम क्वाटरफाइनल खेलेर सेमिफाइनल प्रवेश गरेको हो । झापाले ५-१ गोलअन्तरमा सिक्किमलाई पराजित गरेको थियो ।
संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबजस्ता बलियो टोलीलाई पराजित गरेर झापासँग सेमिफाइनलमा भेट पक्का गरेको हो । संकटाले पुलिसलाई १-० र थ्री स्टारलाई २-० गोलले पराजित गरेको थियो ।
घरेलु समथकको साथ पाएको झापा ११ र संकटाबीचको खेल रोमाञ्चक हुने आयोजकले अपेक्षा लिएको छ । झापाका तर्फबाट विमल घर्तीमगर, विशाल राई र देवेन्द्र तामाङ, दीप कार्कीजस्ता भरपर्दा र राष्ट्रिय टोलीका सदस्य समावेश छन् ।
तीन संस्करणको उपाधि चुमिसकेको त्रिभुवन आर्मी एफसी सातदोबाटोलाई पराजित गर्दै चौँथोपटक फाइनलमा प्रवेश गरिसकेको छ । झापा फाइनल प्रवेश गर्दै उपाधि रक्षा गर्ने दाउमा छ भने संकटा पहिलोपल्ट फाइनल यात्रामा हुनेछ ।