२०८३ बैशाख ३ गते , विहीबार

झापा गोल्डकप : संकटामाथि सहज जित निकाल्दै झापा ११ फाइनलमा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २८ गते , शनिबार
झापा गोल्डकप : संकटामाथि सहज जित निकाल्दै झापा ११ फाइनलमा

झापा । संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो । 

अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ । आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ । 
बिर्तामोड ३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २–० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 
झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६ औँ र ५८ औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।
झापाले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ५५ औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए । ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो ।
८७औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन् । विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बर्तौलाले गोल गर्न सकेनन् ।

खेलमा संकटाले बनाएका मुभ विपक्षी टिम खेलाडीले विफल बनाए । संकटाले खेलको २३ औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए ।
३० औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए । ३२ औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए ।
८१ औँ मिनेटमा संकटाका दीपेश आले मगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे ।
खेलको अतिरिक्त समयमा फोडे फोफोनाले गरेको शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए । शनिवारको खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विमल घर्ती मगर घोषित भए । उनले नगद ९ हजार ९९९ पाए ।
उनलाई आजका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले नगद तथा ट्रफी प्रदान गरे ।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।





सम्बन्धित समाचार