राजेन्द्र लिङदेनको गृह जिल्लामा तरङ्ग, राप्रपा परित्याग गरेका कार्यकर्ता कमल थापाको राप्रपा नेपालमा लागे
झापा । राजेन्द्रप्रसाद लिङदेनको गृह जिल्ला झापामै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आबद्धमा नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका छन् । शनिवार मात्र राप्रपा परित्याग गरेका जिल्लाका वरिष्ठ उपाध्यक्ष कमल खरेलले आफ्नै अध्यक्षतामा कमल थापाको नेतृत्वको राप्रपा नेपाल झापा जिल्ला समिति गठन गरेका छन् ।
उनले शनिवार मात्र सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने जानकारी दिएका थिए । आइतबार बिर्तामोडमा भएको भेलाले खरेलको अध्यक्षतामा राप्रपा नेपालको झापा जिल्ला समिति गठन गरेको हो । जसको उपाध्यक्षहरूमा नारायण राजवंशी, देवेन्द्र कन्दङ्वा, सचिव देवीप्रसाद दंगाल र कोषाध्यक्ष कल्पना खत्री रहेका छन् ।
त्यस्तै सदस्यहरूमा देवीरमण भट्टराई, चेतनाथ थापा, रोशनकुमार सिंह राजवंशी, पुकार दंगाललगायत १७ जनाको जिल्ला समिति रहेको छ । गठित जिल्ला समितिलाई आजै जिल्ला निर्वाचन कार्यालयमा दर्ता गराइएको अध्यक्ष खरेलले बताए । उनले जिल्ला निर्वाचन कार्यालयमा १७ सदस्यीय समिति दर्ता गराएपनि ५१ सदस्यीय समिति रहेको जानकारी दिए । त्यस्तै राप्रपा नेपालको केन्द्रीय सदस्यमा रोहित राजवंशी , सहायक महामन्त्रीमा देवीरमण भट्टराई चयन भएको जनाइएको छ ।
राप्रपामा रहेका जिम्मेवार नेता कार्यकर्ताहरु राप्रपा नेपालमा गएका हुन् । राप्रपा नेपालका अध्यक्ष भएका खरेल राप्रपाको वरिष्ठ जिल्ला अध्यक्ष थिए । त्यस्तै उपाध्यक्ष राजवंशी २ नं क्षेत्रीय अध्यक्ष थिए । त्यस्तै कन्दङ्वा ३ नं पूर्व क्षेत्रीय अध्यक्ष , दंगाल निवर्तमान प्रदेश कमिटी सदस्य, खत्री पूर्व जिल्ला सदस्य , भट्टराई पूर्व केन्द्रीय सदस्य, रोहित राजवंशी पूर्व केन्द्रीय सदस्य रहेका थिए । झापामा राप्रपाका प्रभावशाली नेता मानिएका खरेलसहितका नेताहरुको पार्टी परित्यागले राप्रपामा तरङ्ग मच्चिएको छ । यसैबिच राप्रपा नेपालमा गएकाहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी आजै मितिदेखि राप्रपाको साधारण सदस्यसमेत नरहेको जानकारी दिएका छन् ।