मेची रङ्गशालामा धनुषवाण खेल सम्बन्धी तालिम हुँदै
भद्रपुर । नेपालमा लोप हुँदै गएको धनुषवाण खेललाई जोगाउन झापामा खेलाडी उत्पादन गरिने भएको छ । झापा जिल्ला आर्चरी सङ्घले यही चैत ११ देखी तीन दिनसम्म भद्रपुरस्थित मेची रङ्गशालामा खेल सम्बन्धी तालिम आयोजना गरी खेलाडी उत्पादन गर्न आइतबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङले खेलको बारेमा जानकारी गराएका थिए । नेपालमा २०४४ मा दर्ता भए पनि खेलको सुरुवात २०६२ सालबाट भएको अध्यक्ष गुरुङले जानकारी दिए । सन २०१६ मा रियो ओलम्पिकमा नेपालबाट मकवानपुरका जीतबहादुर मोक्तानले भाग लिए पनि पूर्व तयारी नपुगेका कारण सफल हुन नसकेको उनले जनाए । खेलको बारेमा पूर्ण जानकार नहुँदा खेलाडीमा विचलन आइ खेलाडी नै पलायन भएका कारण यो खेल ओझेलमा परे पनि अब नेपालभर सक्रिय गराइने उनले जनाए । खेलका कोच समेत रहेका गुरुङले हाल नेपालका १७ जिल्लामा यो खेल फैलिए पनि सन्तोषजनक खेलाडी उत्पादन गर्न नसकिरहेको गुनासो गरे । खेलमा १४ वर्षभन्दा माथिका दुवै समूहले भाग लिने खेलमा अन्य कुनै मापदण्ड नरहेको उनले जानकारी गराए । प्रदेश ४ को पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलमा प्रदेश १ बाट महिला पुरुष गरी ८ जना खेलाडीलाई छनौट गरी खेलमा भाग लिनका लागि तालिम महत्त्वपूर्ण मानिएको उनको भनाइ थियो ।
स्थानीय समेत रहेका गुरुङले झापालाई धनुष वाणको खेलबाट परिचित गराउने उद्देश्यले तीन दिन हुने तालिमका लागि केन्द्रबाट दुई जना प्रशिक्षकले खेलको बारेमा प्रयोगात्मक प्रशिक्षण दिने उनले जानकारी गराएका थिए । प्रशिक्षक गुरुङले जिल्ला सङ्घलाई व्यक्तिगत रूपमा ५ थान धनुष र तिर सहयोग गर्ने जनाए ।
केन्द्रको अगुवाइमा २०७६ बाट झापामा सङ्घ गठन गरिए पनि कोभिडका कारण गतिविधि गर्न नसकिएको जिल्ला अध्यक्ष कविन राईले बताए । तीन दिने तालिममा जिल्लाका सबै पालिकालाई जानकारी गराइ भव्य रूपमा खेलको चर्चा परिचर्चा गरिने जनाए । सुरुवातीमा १० मिटरको दुरीबाट तिर हान्ने र पछि ७० मिटरसम्म पुर्याइने उनको भनाइ थियो । नेपाल बाहिर भारत, बङ्गलादेश, चीन, कोरिया लगायतका देशहरूमा यो खेल परिचित भएको सङ्घले जनाएको छ ।
सङ्घका सचिव दीप पौडेलले सहजीकरण गरेको कार्यक्रममा जिल्लाका उपाध्यक्ष शमशेर तामाङ, सहसचिव महेन्द्र कोइराला, कोषाध्यक्ष विशाल राई, सदस्यहरू विवेक लिम्बु,भूपाल कार्की, भरत गुरुङ, राजन भट्टराई, विशाल लिम्बु, विजय लिम्बु, सुभाष राई , विवेक आचार्य , हाङ्ग नारायण लिम्बु, सञ्जय राई लगायतको उपस्थिति रहेको थियो । सङ्घलाई दरविलो बनाउन आदित्य पराजुली, प्रज्वल राई ,विगत ओझा र विनोद चापागाईँ सल्लाहकार समेत राखिएको अध्यक्ष राईले जानकारी दिए ।