भद्रपुरमा प्रथम रात्रिकालीन वडा स्तरीय भलिबल प्रतियोगिता शुरु
झापा । भद्रपुरमा प्रथम रात्रिकालीन वडा स्तरीय नकआउट भलिबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । भद्रपुर– ५ स्थित भद्रपुर युवा परिवारको आयोजनामा भद्रपुर उच्च माविको खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा वडा नम्बर ५ र वडा नम्बर ४ विजयी भएको छ । पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १ लाई वेस्ट अफ थ्री सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २५-१९ ल्याउँदै वडा ५ ले जित्यो । दोस्रो सेटमा २३-२५ मा ल्याउँदै वडा १ ले जित्यो । तेस्रो सेटमा २५-२१ ल्याउँदै वडा ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर २ लाई सोझो सेटमा हराएको छ । २५-२१, २५-१८ सोझो सेटमा हराउँदै वडा ४ सेमिफाइनलमा प्रवेश गरेको हो । सोमबारको खेल वडा नम्बर ९ र १०, वडा नम्बर ६ र ८ बिच हुने आयोजक समितिले जनाएको छ । भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, माओवादी केन्द्रका शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य सचिव सिकेन्द्र यादवले राखेको कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन् । प्रतियोगितामा नगर क्षेत्रका १० वटा वडाले सहभागिता जनाएको छ । विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जनाइएको छ ।