दमक गोल्डकपको तयारी पूरा, विजेतालाई नगद १३ लाख ११ हजार
दमक गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । दमक नगर खेलकुद विकास समितिको आयोजनामा यही चैत १८ गते सम्म चल्ने दमक गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशीसहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती यूथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । उद्घाटन खेल आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबिच खेल हुनेछ ।
प्रतियोगिताका लागि मैदान सम्म्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको उनले बताए । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले नगद ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।